एक मधेसी छोरा प्रधानमन्त्री बन्न लागेको छः बालेन साह


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले संघीयतालाई बलियो बनाउन प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने बताएका छन् ।

रास्वपाले सोमबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा साहले प्रदेश संरचना बलियो बनाउनुपर्ने बताएका हुन् । उनले प्रदेश संरचना बलियो बनाएर काठमाडौंमा अधिकार माग्न जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

उनले भने, ‘काठमाडौं अधिकार माग्न हैन, पशुपति र स्वयम्भुनाथ घुम्न जाने हो । वीरगन्जको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गरे मात्र प्रदेश बलियो हुन्छ ।’

उनले काठमाडौँलाई अधिकार माग्ने नभई घुम्ने ठाउँको संज्ञा दिए । उनले काठमाडौँमा आफूले २० हजारभन्दा बढी विद्यार्थीलाई पढाएको र १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गराइएको कार्य समाजवाद भएको बताए ।

उनले मिथिलाको पावन भूमिमा आएको बताउँदै पूरै देशमा १० लाख पर्यटक आउँदा जनकपुर एक्लैले त्यो धान्न सक्ने दाबी गरे । उनले एक मधेसी छोरा प्रधानमन्त्री बन्न लागेको भन्दै सही समय आएकाले रास्वपाको चुनाव चिह्न घण्टीमा भोट हाल्न आग्रह गरे ।

उनले आफू काम गर्ने मान्छे भएकाले काम गर्न आएको बताए । उनले भने, ‘म काम गर्ने मान्छे हुँ । काम गरेर देखाउँछु ।’

काठमाडौं महानगरको मेयरको रूपमा काम गर्दा देशका सबै नागरिकको लागि काम गर्न नसकेको दाबी गरे । उनले भने, ‘दिनहुँ माइतीघरमा आन्दोलन हुन्छ । तर, मेयर भएर केही गर्न सकिनँ । अब गर्न चाहन्छु ।’ अधिकार माग्नका लागि कोही पनि काठमाडौं जानु नपरोस् भन्ने आफूले चाहेको उनले बताए ।