‘राजधानीमा षड्यन्त्रको अनेकन राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिए, त्यसलाई हामीले रोक्न सकेनौँ’


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एकतावद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन नसकेको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गरी यसमा हाामी सबै कहीँ न कहीँ चुकेको कुरा स्वीकार्न आफूलाई कुनै संकोच नभएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘कांग्रेसलाई एकतावद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडी को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न । हामी सबै कहीँ न कहीँ चुकेको कुरा स्वीकार्न मलाई कुनै संकोच छैन । यसबीचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिका वारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहासमा सुम्पन्छु ।’

कोइरालाले राजधानीमा षड्यन्त्रको अनेकन राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई आफूहरुले रोक्न नसकेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसबीच गुज्रियौँ । राजधानीमा षड्यन्त्रको अनेकन् राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ । कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनु पर्छ भन्नेमा सबैको ईमान्दार प्रयास थियो । तर त्यसो हुन सकेन । यस कठिन घडीमा हामीले स्मरण गर्नुपर्ने हाम्रा महामानव श्रद्धेय नेता विपी कोइरालालाई हो ।’

उनले हाम्रा सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहासको गौरवलाई जोगाउने जिम्मेवारी रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘अब हाम्रा सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहासको गौरवलाई जोगाउने जिम्मेवारी छ । यस कठिन घडीमा कांग्रेसको संगठनात्मक उर्जा प्रस्फुटन भएर मात्र हामी इतिहासले र हाम्रा अग्रज नेताहरुले दिएको जिम्मेवारी पुरा गर्न सक्छौँ । यसको लागि सम्पूर्ण कांग्रेस एकताको खाँचो अहिले अपरिहार्य भएको छ । तसर्थ, साथीहरु कांग्रेस पार्टी आम कार्यकर्ता साथीहरुले निर्माण गरेको पार्टी हो, हाम्रा साझा इतिहाँस छन, साझा नेता र शहिदहरु छन् । हामी यिनैको प्रेरणाबाट नेपाल र नेपालीको साझा भविष्यको कल्पना गर्न सक्छौँ ।’

उनले यहाँ जितहार कसैको नभएको भन्दै सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्ने बताएका छन् ।