काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि अन्तिम विकल्पसमितको प्रस्ताव पठाएको छ । विशेष महाधिवेशन पक्षधरले गगन थापालाई भावी प्रधानमन्त्रीको प्रस्तावसहितको विकल्पको प्रस्ताव गरेको हो ।
कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने, चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने प्रस्ताव संस्थापन पक्षलाई पठाएको हो ।
यसअघि आज बिहान सभापति देउवा र दुई महामन्त्रीबीच देउवा निवासमा वार्ता भएको थियो वार्तामा देउवाले हस्ताक्षर हस्तान्तरण गर्न तयार रहेको बताएका थिए । तर सहमति भने हुन सकेको थिएन । यता विशेष महाधिवेशन पक्षधरले निर्वाचन कार्यक्रम अघि बढाइसकेको छ ।
सभापतिमा गगन थापाको उम्मेदवारी परेको छ । त्यस्तै, महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्रै उम्मेदवारी परेको छ भने सहमहामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। यसमा सहमति नभए अब मतदानको तयारी गरिएको छ । विशेष महाधिवेशन पक्षधरको प्रस्तावमाथि कांग्रेस केन्द्रीय कार्यालयमा संस्थापन पक्षको छलफल चलिरहेको छ ।

प्रतिक्रिया