काठमाडौँ । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि संस्थापन र विशेष महाधिवेशन पक्षधर वार्तामा बसेका छन् । संस्थापन र विशेष महाधिवेशन पक्षबीच बालुवाटारमा वार्ता भइरहेको हो ।
वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट नेताहरू रमेश लेखक र बालकृष्ण खाँण, शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल तथा विशेष महाधिवेशन पक्षधरबाट नेताहरू प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन् ।
विशेष महाधिवेशन पक्षधरले नेतृत्व चयन गर्ने तयारी गरेपछि संस्थापन पक्ष वार्ताका लागि तयार भएको हो । उनीहरुले सभापति देउवा विशेष महाधिवेशनमा नआए आज नेतृत्व चयन गर्ने बताएका छन् । वार्तापछि विशेष महाधिवेशन कसरी अघि बढाउने भन्ने टुंगो लाग्ने नेताहरुले बताएका छन् ।
यसैबीच नेताहरु वार्तामा जुटेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको बैठक दिउसो १ बजे बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया