काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् ।
विशेष महाधिवेशनमा स्वागत मन्तव्य दिँदै नेता घिमिरेले विशेष महाधिवेशनलाई शतप्रतिशत बनाउन आव्हान गर्दै विपी कोइराला, गणेशमान र कृष्णप्रसाद भट्टराईले देखाएको बाटोमा आउन देउवा र खड्कालाई आह्वान गरेका हुन् ।
उनले भने, ‘पार्टीका सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्काज्यूलाई म आग्रह गर्न चाहन्छु– आज मसँग तिक्तताको भण्डार सकिएको छ । आउनुहोस्, यो विशेष महाधिवेशनलाई सय प्रतिशतको महाधिवेशन बनाऔँ ।’
उनले विशेष महाधिवेशनमा उपस्थित कांग्रेसका नेता कार्यकर्तालाई नजरअन्दाज नगर्न चेतावनी दिए । उनले बिपी कोइराला र सुवर्णशमशेरले एकताबद्ध रूपमा पार्टी चलाएजस्तै अहिले पनि सबै मिलेर पार्टी अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उनले संस्थापन पक्षको दबाबका बीच विशेष महाधिवेशनमा सहभागी भएका महाधिवेशन प्रतिनिधिहरुलाई धन्वाद दिदै अब यस विशेष महाधेशनले कांग्रेसको आगामी दिशा तय गर्ने बताए ।

प्रतिक्रिया