उन्माद नशामा देश बन्दैन, दिमाग ठिक ठाउँमा हुनुपर्छः अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनको वातावरण अझै नबनेको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सेना परिचालन गर्दैमा शान्तिपूर्ण निर्वाचन नहुने बताएका हुन् ।

सेना ब्याक फोर्सको रूपमा पछाडि बस्ने भएकाले सेना परिचालन गर्दैमा शान्तिपूर्ण निर्वाचन हुन्छ भन्ने विश्वसनिय आधार नभएको बताए ।

उनले भने, ‘सेना परिचालन गर्दैमा चुनाव शान्तिपूर्ण हुन्छ भन्ने होइन। सेना ब्याक फोर्सको रूपमा पछाडि बस्ने हो, बुथ कुरेर बस्ने होइन । अनि प्रहरी नपुगेर म्यादी प्रहरी भर्ना गर्दैछौं । तर को म्यादी प्रहरी भर्ना भइरहेको छ थाहा छ ? छाती नापो, तौल नापो सकियो । तर प्रहरीको अझै मनोबल बढेको छैन । त्यस्तो अवस्थामा कसरी हुन्छ निर्वाचन ?’

अध्यक्ष ओलीले एमाले कांग्रेसले चुनाव जित्ने भए चुनावै नगराउने अरे भन्ने हल्ला सुनेको समेत बताए । उनले नयाँ भन्नेहरुले अझै २० वर्ष चुनाव नजित्ने बताए ।

उनले भने, ‘चुनाव भयो भने हामी जित्छौं । एमाले कांग्रेसले चुनाव जित्ने भए चुनावै नगराउने अरे, अनि फलानाले जित्ने भने मात्रै गराउने अरे ती फलाना फलानाले आउने २० वर्ष चुनाव जित्ने वाला छैन। अब के गर्ने, चुनाव नगराउने ? अब २० वर्ष तिनले चुनाव जित्ने वाला छैनन्, यो भोँपु बजाउनु बेग्लै कुरा हो।’

उनले निर्वाचन गराउने सरकारले हेटौँडामा घर भत्काएको भन्दै आपत्ति जनाए । उनले भत्काएर नभई बनाउन जान्नुपर्ने बताए । अध्यक्ष ओलीले उन्मादमा, नशामा देश नबन्ने बताए । उ

नले भने, ‘उहाँहरूले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवारले महान् काम गरेको छ, देश बनाएको छ भन्दिनुपर्ने ? बनाउनको लागि दिमाग ठिक ठाउँमा हुनुपर्छ। उन्मादमा नशामा देश बन्दैन।’

अध्यक्ष ओलीले मुलुकलाई संवैधानिक मार्गमा फर्काउन पनि प्रतिनिधिसभा पुनस्र्थापना हुनुको विकल्प नरहेको बताए । उनले भने, ‘प्रतिनिधिसभा भंग गरिएको छ, निर्वाचित सरकार भंग गरियो । र, एउटा अनधिकृत असंवैधानिक सरकार जडान गरियो । संविधान संशोधन गर्न सकिन्छ । मिच्न, कुल्चिन पाइँदैन ।’

अध्यक्ष ओलीले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिनुले मुलुकमा डेमोक्रेसी छ भन्ने अनुभूति भइरहेको बताए ।