रास्वपाको समानुपातिक सूचीबाट राजमी रामले पनि लिए नाम फिर्ता


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको बन्दसूचीका उम्मेदवार डा.राजमी रामले आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले बन्दसूचीमा नाम समावेश हुनु आफ्ना लागि व्यक्तिगत सम्मान मात्र नभई पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ सपनाको प्रतिनिधित्व भएको बताएका छन् । तर उनले राजनीतिलाई केवल अवसर प्राप्त गर्ने माध्यमका रूपमा नहेर्ने स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘म संसदको कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता राख्दिनँ। सामाजिक चेतनाका थुप्रै मोर्चाबाट पनि न्यायको लडाइँ लड्न सकिन्छ भन्ने विश्वास मेरो जीवनको अभ्यास हो । त्यसैले, दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु।’

उनले आत्ममूल्यांकनका आधारमा उनले आफूभन्दा पनि अझै बढी पीडित, अझै कम सुनिएका आवाज संसदभित्र पुग्नुपर्ने निष्कर्षमा पुगेको बताएका छन् ।