बन्दसूचीमा पेस भएका दलका मात्रै चुनाव चिन्ह राखेर मतपत्र छापिने, फागुन १० सम्म सबै जिल्लामा पठाइने


काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बन्दसूचीमा पेस भएका दलका मात्रै चुनाव चिन्ह राखेर मतपत्र छाप्ने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विगतमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने अभ्यास भएपनि यसपटक त्यस्तो नगर्ने जानकारी दिए ।

त्यसैगरी उनले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ पुस १३ र १४ गते दलहरूले बुझाएको बन्दसूचीको नाम दुई वटा अवस्थामा परिवर्तन गर्न पाइने बताए ।

उनले समानुपातिक प्रतिनिधित्व नमिलेको अवस्थामा समानुपातिक प्रतिनिधित्व गराउने उद्देश्यले परिवर्तन गर्न पाइने र अर्को कुनै उम्मेदवारले नाम फिर्ता लिएमा मात्र परिवर्तन गर्न पाइने बताए ।

उनले भने, ‘नाम परिवर्तन गर्न पनि पाइन्छ तर दुई वटा अवस्थामा । एउटा समानुपातिक प्रतिनिधित्व नमिलेको अवस्थामा समानुपातिक प्रतिनिधित्व गराउने उद्देश्यले गर्न पाइन्छ । दोस्रो कुनै उम्मेदवारले नाम फिर्ता लियो भने त्यो ठाउँमा अर्को नाम पठाउन मिल्छ ।’

आयोगमा पेस भएको समानुपातिकको बन्दसूचीलाई निर्वाचन आयोगले १५ गतेदेखि २० गतेसम्म रुजु गर्ने उनले जानकारी दिए ।

प्रवक्ता भट्टराईले  निर्वाचनका लागि करिब ४ करोड मतपत्र छाप्ने तयारी गरेको जानकारी दिए । छापिएपछि मतपत्र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने लक्ष्य लिइएको बताए ।