नेता कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचनका लागि सबै तरिकाले तयार रहनूस्


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन् । सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको, मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उनले बताए ।

नयाँ वर्ष सन् २०२६ का अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद वर्ष भएको बताए ।

नेपालमा लोकतन्त्र विस्थापनको ठूलो सिलसिला गम्भीर ढङ्गले शुरू गरिएको भन्दै उनले नेपाली जनताको सचेतनताका कारण प्रतिगमनकारीहरूले त्यो प्रयासलाई चाहेको ठाउँमा पुर्याउन भने नसकेको बताए ।
उनले भने, ‘जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो।’

वर्तमान सरकार असंवैधानिक भएको र संसद अनधिकृत व्यक्तिको सिफारिशमा विघटन गरिएको भन्दै उनले यो प्रधानमन्त्री परिवर्तनको कुरा मात्र नभई लोकतान्त्रिक प्रणाली र प्रक्रियामाथिको प्रहार भएको प्रष्ट पारे ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिएको भएपनि अहिलेसम्म निर्वाचनको वातावरण नबनेको र सरकारले वातावरण बनाउने दिशामा काम नगरेको उनले बताए । अध्यक्ष ओलीले निर्वाचनका नाममा लोकतान्त्रिक प्रक्रिया दुरूपयोग गरेर लोकतन्त्र मास्ने प्रयास हुनसक्ने खतरा औल्याए ।

अध्यक्ष ओलीले भने, ‘नेताहरूविरूद्ध झुठा मुद्दा लगाउने, अशान्त वातावरण सिर्जना गर्ने, लुटिएका हतियार फिर्ता नहुने, जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो, निर्वाचनमा बुथ कब्जा गर्न खोजियो र निर्भयपूर्वक मतदान भएन भने निर्वाचन लोकतन्त्र कमजोर बनाउने ‘ड्रामा’ मात्र हुने छ।’

अध्यक्ष ओलीले शान्तिपूर्ण वातावरणमा स्वच्छ निर्वार्वाचनमा नेकपा (एमाले) निर्वाचनमा सहभागी हुने र विजय हासिल गर्ने बताए ।

निर्वाचन भइहाले त्यसका लागि तयार रहन निर्देशन दिँदै अध्यक्ष ओलीले भने, ‘आफ्नो सामथ्र्यलाई नतिजा निकाल्ने गरी लाग्नुपर्छ। निर्वाचनका लागि सबै तरिकाले तयार रहनूस्।’

तर, अहिले देशलाई निकास दिने सबभन्दा सही बाटो ‘विघटन भएको प्रतिनिधि सभा पुनस्र्थापना’ हो भन्दै अध्यक्ष ओलीले संसद पुनस्र्थापनापछि संसदबाट समाधान खोजिनुपर्ने पार्टीको धारणा रहेको बताए ।

विगतमा संसद विघटनका मुद्दामा सर्वोच्चले दुई महिनामा फैसला दिने गरेको स्मरण गर्दै यो कसैको निजी विषय नभई राष्ट्रको विषय भएकाले समयमै फैसला आउनु आवश्यक रहेको उनले बताए ।

गत भदौ २३ र २४ गतेका घटना स्मरण गर्दै अध्यक्ष ओलीले सन् २०२५ मा नेपालमा मानवजातीकै विरूद्ध नृशंस र दानवीय व्यवहार भएको बताए । नेपालीपन, नेपाली मनसँग कहीँ पनि नमिल्ने घटना भएको र यो नेपालका लागि सबभन्दा धेरै असहज रहेको उनले बताए ।

अहिले पनि आतङ्क र भय सिर्जना गर्ने, नेताहरूमाथि प्रतिशोध र पूर्वाग्रह साध्ने, चरित्र हत्या गर्ने सिलसिला चलिरहेको भन्दै अध्यक्ष ओलीले प्रतिशोधको राजनीति लोकतन्त्र विरोधी र लोकतन्त्रलाई सिध्याउने कुरा भएको बताए ।

लोकतन्त्रलाई ट्रयाकमा ल्याउने जिम्मेवारी नेकपा (एमाले)मा आएको र पार्टीले त्यो काम गरिरहेको अध्यक्ष ओलीले बताए । उनले अन्य राजनीतिक दलहरूलाई पनि लोकतन्त्रको पक्षमा आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरे ।

देशमा सिर्जना गरिएको भय, आतङ्कलाई कम गर्न र शान्ति सुव्यवस्थाको अवस्था सिर्जना गर्न एमालेले शुरूदेखि नै प्रयास÷ पहल थालेको र त्रासदीपूर्ण अवस्थाबाट नेपाली समाज सामान्य अवस्थामा फर्कन शुरू भएको अध्यक्ष ओलीले जानकारी गराए ।

उनले भने, ‘सबै जिल्ला, पालिका र वडावडामा गरी हजारौंको सङ्ख्यामा जुलुस र सभा गरी जनताको मनोबल उठाउने काम गरियो।‘

अध्यक्ष ओलीले पार्टीको ११ औं महाधिवेशन पनि असाधारण जनपरिचालनका साथै सिङ्गो पार्टी परिचालन गरेर सम्पन्न गरिएको र महाधिवेशनबाट पार्टीमा ताजापनका साथै राष्ट्रिय राजनीतिमा एउटा असाधारण र सकारात्मक परिस्थिति निर्माणको सन्देश दिन सफल भएको बताए ।

पार्टीमा कतै गुटगत भावना होइन, पार्टी भावना, एकताको भावना, राष्ट्रका लागि समर्पित भावनाका साथ पार्टी एकताबद्ध भएर अगाडि बढ्ने उनले बताए ।

आफूले सधै पार्टीलाई एकताबद्ध बनाउन कोसिस गरेको र विगतमा लगभग दुई तिहाइको अवस्थामा सुदृढ पार्टी बनाएको स्मरण गर्दै अब पनि पार्टीमा यथोचित मिलाएर लैजाने प्रयास आफूबाट हुने अध्यक्ष ओलीले बताए ।