मन रोई रोई एक्लै अलग भएको थिएँ, अहिले घर फर्किएको अनुभव भएको छः थापा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आफूहरुको राप्रपामा पुनर्मिलन भएको बताएका छन् ।

बुधबार पार्टी एकता घोषणा समारोहलाई सम्बोधन गर्दै थापाले यसलाई एकता भनिए पनि यो पुनर्मिलन भएको बताएका हुन् ।

उनले आमजनता र कार्यकर्ताको भावना अनुसार एकता गरिएको भन्दै आफू घर फर्किएको अनुभव भएको बताए ।

उनले भने, ‘आफूले रगत पसिना बगाएको घरमा फर्किँदा जस्तो अनुभूति हुन्छ, मलाई अहिले त्यस्तै अनुभव भएको छ । २०७८ साल माघको अन्तिम साता अत्यन्तै भारी मनले मैले राप्रपा रुपी घर छोडेर गएको थिएँ । खुसीले होइन । मन रोई रोई म एक्लै अलग भएको थिएँ । गीताको कसम खाएको मान्छेले पार्टी फुटयायो । हारेर पार्टी फुटायो भन्ने आरोप लगाइयो । त्यसमा कुनै सत्यता थिएन ।’

चार वर्षअघि अलग भएका उनीहरु फेरि ठाउँमा आएका हुन् ।