उज्यालो नेपाल र रास्वपाबीच सात बुँदे सहमति, बालेन साक्षी, रवि र अनुपले गरे हस्ताक्षर


काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच पार्टीबीच एकताको सहमतिमा हस्ताक्षर भएको छ ।

सोमबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन साह साक्षी बसेर रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार रास्वपा सभापतिमा रवि लामिछाने नै हुनेछन् भने प्रतिनिधिसभा निर्वाचनपछि बालेन साह रास्वपाको संसदीय दलको नेता र पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन् ।

यस्तै कुलमान घिसिङलाई रास्वपामा रविपछिको वरीयता दिइएको छ । सभापतिमा रविपछि, दोस्रो वरीयतामा कुलमान घिसिङ र त्यसपछि उपसभापतिद्वय डीपी अर्याल र डा.स्वर्णिम वाग्ले रहने गरी नेतृत्व संरचना तय गरिएको हो ।

बालेन र रास्वपा सभापति रविबीच आइतबार सहमति हुँदा कुलमान त्यसमा सहभागी थिएनन् । त्यसयता उनीहरू दुई जनाले पटक पटक कुलमानसँग वार्ता गरी सहमतिमा पुगेका हुन्।