काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष ढंगले अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ आयोगलाई आग्रह गरेका छन् ।
सोमबार आयोगमा बयान दिएपछि पत्रकार सम्मेलन गरी लेखकले पूर्वाग्रहरहित ढंगले सम्पूर्ण कुराहरूको विश्लेषण गरेर आफ्नो प्रतिवेदन तयार पार्न आयोगले आग्रह गरेका हुन् ।
उनले आवश्यक परेको खण्डमा आयोगमा फेरि पनि बयानका लागि आउने बताएका छन् । उनले भने,‘ मैले आयोगलाई अझै आवश्यकता पर्यो भने बोलाउनुस् भनेको छु । प्रश्न उठ्छन् प्रश्नको जवाफ दिनुपर्छ ।’
उनले आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकारी नपाएको बताए । लेखकले आफूमाथि कुन कानुनअनुसार कुन प्रयोजनका लागि र कति समय स्थानहद गरिएको हो भन्नेबारे अहिलेसम्म जानकारी नपाएको बताए ।
उनले भने, ‘संविधान, कानुनबमोजिम के कारणले कुन प्रयोजनका लागि कति समय स्थानहद गरिएको हो । त्यो मैले जानकारी पाउनु पर्ने हो । तर अहिलेसम्म जानकारी पाएको छैन ।’
उनले भदौ २४ गते भएका हिंसात्मक घटना जेनजीको भावना विपरीत भएको बताए । उनले भने, ’मेरो राजीनामापछि भदौ २४ गतेका दिन जे जस्ता हिंसात्मक एवं राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्र विरूद्धका घटना भए, ती कुनै देशभक्त नेपालीले कल्पना गर्न सक्ने कुरा थिएनन्।’
उनलेव यो सुनियोजित षड्यन्त्र भएको बताए । उनले भने, ’यो नियोजित षडयन्त्र नै थियो। यो राष्ट्र र लोकतन्त्र माथिको नियोजित आक्रमण हो भन्ने मेरो ठम्याइ छ ।’
उनले आन्दोलनका कारण अक्सिजन लिइरहनु पर्ने सिकिस्त बिरामी आमाले अक्सिन लिन नपाउँदा केही दिनमै निधन भएको बताए ।
उनले भने, ‘भाद्र २४ गतेको घटनामा प्रदर्शनकारीको आक्रमणबाट जोगाउन मेरो बृद्ध र अक्सिजन लिइरहनु पर्ने सिकिस्त विरामी आमालाई लामो समय अक्सिजनबिना नै राखी अस्पताल पुर्याउनु परेको कारणले केही दिनपछि दिवंगत हुनुभयो। तैपनि सिंगो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई गौण ठानेको छु।’

प्रतिक्रिया