पार्टीको कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गर्न कांग्रेसको परिपत्र


काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले गरेको परिपत्र पठाउँदै केन्द्रीय कार्यसम्पादन समितिको पुस १२ गते बसेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

बैठकले विगतका विभिन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका र असहयोग गरेका नेता तथा कार्यकर्तामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक तथा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाले कारबाहीमा परेकाहरूलाई माफी दिने निर्णय गरेको थियो ।

निर्णयमा कारबाही माफी पाएका व्यक्तिहरूको पार्टीमा पहिले बहाल रहेको पद तत्काल फिर्ता नहुने उल्लेख छ । माफी पाएकाहरूले आफ्नो ‘क्रियाशील सदस्यता’ नवीकरण गर्न पाउने निर्णय कार्यसम्पादन समितिले गरेको छ ।