जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका खारेज, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय


काठमाडौँ । सरकारले नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले गृह मन्त्रालयअन्तर्गतका निकायहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बैठकले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बैठकले वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेको खण्डमा श्रम स्वीकृति दिन स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ।

त्यस्तै बैठकले जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०६६ खारेज गर्ने निर्णय समेत भएको प्रवक्ता खरेल बताए ।

बैठकले विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बैठकले डोटीको विपीनगर, ताप्लेजुङको श्रीचङ्घा, डोल्पाको धो, मुगुको खत्याग, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेघौली र सङ्खुवासभाको हिदाङगढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।