ओलीसँगको भेटपछि पत्रकारको प्रश्नः स्थान हदबारे के हुन्छ ? संचारमन्त्रीः केही उल्झन् छन् भने वातावरण बन्छ


काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचनका विषयमा छलफल गरेका छन् ।

शुक्रबार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर मन्त्री खरेलले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन् । छलफलमा आफूले निर्वाचनको वातावरण बनिसकेको बताएको जानकारी दिए । त्यसक्रममा आफूले सरकारको तर्फबाट सुरक्षा मजबुत भएको कुरा बताएको जानकारी दिए ।

भेटपछि मन्त्री खरेलले भने, ‘सरकारको तर्फबाट सुरक्षा मजबुत भएको कुरा जानकारी गराएँ । सरकार पनि तयार छ । निर्वाचनमा भाग लिन आग्रह गर्न पनि म यहाँ आएको थिएँ ।’

भेटमा अध्यक्ष ओलीले निर्वाचनको वातावरण बनिनसकेको भन्दै सुरक्षा राम्रो बनाउन आग्रह गरेका थिए । मन्त्री खरेलले भने,‘राजनीतिक दलले सुरक्षा मजवुत बनाउ भन्नु नराम्रो होइन । चुनावमा भाग नलिने कसैले भनेको छैन ।’

उनले वातावरण बनाउनु सरकारको दायित्व भएको भन्दै एउटा लोकतान्त्रिक पार्टी चुनावमा जानुपर्छ भन्ने सैद्धान्तिक मान्यताबाट पछि नहट्ने विश्वास व्यक्त गरे । मन्त्री खरेलले आमजनता पनि निर्वाचनका लागि तयार भएको अवस्थामा एमालेलाई चुनावका लागि थप प्रोत्साहित गर्न अध्यक्षलाई भेटेको बताए ।

उनले निर्वाचनको वातावरण बनेकाले एमालेलाई ढुक्कसँग चुनावी गतिविधि गर्न आग्रह समेत गरेको बताए । मन्त्री खरेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सरकारले सबैखाले उल्झन हटाउने बताए । एमाले अध्यक्षलाई स्थान हद तोकिएको विषय सुल्झिने बताए ।

उनले भने, ‘निर्वाचन महोत्सव हो । यो लक्ष्य प्राप्तिका लागि हाम्रा आसपासमा केही अल्झन छन्, चुनौती छन्, केही कुरा सहज बनाउनु छ भने निर्वाचनको गन्तव्यमा पुग्नका लागि सरकारले त्यो वातावरण बनाउनुपर्छ, बनाउँदै अघि बढ्छ ।’ ओलीलाई भेटनुअघि मन्त्री खरेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।