सभापतिले पूर्णबहादुर खड्कालाई नाममात्रैको कार्यवाहक दिनुभयोः गगन थापा


काठमाडौं । नेपाली काग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई नाममात्रैको कार्यवाहक दिएको बताएका छन् ।

बुधबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको वैठकपछि पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले सभापति देउवा पार्टी बैठकमा नआएपनि सबै शक्तिको अभ्यास गरिरहेको बताएका हुन् । उनले भने, ‘उहाँले कार्यवाहक दिनुभएको छ । तर यो कार्यवाहक नाम मात्रैको छ । आज वैठकमा आउनुभएको छैन । तर बाँकी रहेको वैठक, बाँकी रहेको शक्ति सबै त्यहीँबाट अभ्यास भइरहेको छ ।’

उनले महाधिवेशन नगरिकन कांग्रेस आमनिर्वाचनमा जान नहुने बताए । महामन्त्री थापाले नयाँ नेतृत्वले चुनाव हाँक्छ भन्ने सभापतिको ठाउँबाट भूमिका निर्वाह हुनुपर्ने बताए । जेनजी आन्दोलनपछि कार्यवाहक खड्कालाई दिएका देउवा राजनीतिमा सक्रिय देखिन थालेका छन् ।

सिंगापुरबाट उपचारपछि फर्केका देउवा पछिल्लो समय अन्य दलका नेताहरुसँगको भेटवार्ता गरिहेका छन् । एमाले अध्यक्ष ओलीसँग उनले दुई पटक वार्ता गरेका छन् भने राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलमा पनि देउवा नै सहभागी भएका छन् ।