काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, कानुन न्याय तथा संसदीय मामिला तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त रुपमा मंगलबार ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयको निरीक्षण गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको पार्टी कार्यालयको निरीक्षण गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।
अनुगमनपछि सञ्चारकर्मीसँग बोल्दै उनले निर्वाचनको वातावरण सरकारले मिलाउने भएकाले एमालेलाई निर्वाचन आउन आग्रह गरिएको बताए । उनले चुनावमा भाग लिने एमालेबाट आएको प्रतिबद्धता सरकारले सकारात्मक रुपमा लिएको बतौ ।
उनले स्थान हदको विषय सरकारको आफ्नो कार्यक्षेत्र, विधि, प्रक्रिया र कानुन जे हुन्छ, त्यसको अधीनमा रहेर मिलाउनुपर्ने र सबै वातावरण मिलाएर सरकार अगाडि बढ्ने बताए । “हतियारहरु बाहिर छन फिर्ता भए कि भएनन् । कैदीहरु अझै बाहिर छन् । भोट माग्न जान अवस्था छ कि छैन् । राजनीतिक दललाई प्रचारप्रसारमा जानुपर्दछ त्यो अवस्था छ कि छैन । नेताहरुलाई भोट माग्न सहज रुपमा चुनावी अभियानमा जान सक्ने अवस्था छ कि छैन भनेर उहाँहरुले कुरा गर्नु भएको छ”, सञ्चारमन्त्री खरेलले भने, “सबै वातावरण मिलाउने भनेको छौँ ।”
उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई लगाइएको स्थान हदका विषय जाँचबुझ छानबिन आयोग र सरकारले छुट्टाछुट्टै काम गरिरहेको बताए ।
सो क्रममा कानुनमन्त्री सिन्हाले निर्वाचनको वातावरण बनिरहेकाले एमाले पनि निर्वाचनमा सहभागी हुने बताए । भेटमा एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय योगेश भट्टराई र रघुविर महासेठ सहभागी थिए ।



प्रतिक्रिया