-सुरेश आचार्य
नेपाल सरकार तत्काल संवेदनशील हुनुपर्यो, बंगलादेशको अशान्तिले दक्षिण एसियामा बहु–देशिय युद्धको संभावना बढ्न थालेको छ । भारतको क्षेत्रीय सामरिक प्रभूत्वविरूद्ध अहिलेकै स्केलमा चुनौती बढ्दै गएको खण्डमा २०२५ सालको अन्त्य नहुँदै भारतको चिकेन नेक र बंगलादेशको रंगपुर क्षेत्रमा युद्ध हुनसक्छ ।
खासगरी बंगलादेशमा रहेका करिब १ करोड ३२ लाख अल्पसंख्यक हिन्दूहरू असुरक्षित हुने अवस्था आएमा मानवीय आधारमा भारतले सैन्य सुरक्षा बीच उनीहरूलाई बंगलादेशबाट बाहिर भारततर्फ सुरक्षित रूपमा निकाल्न विशाल मानवीय अभियान संचालन गर्नेछ । यसरी सुरक्षाका लागि भारत प्रवेश गर्ने हिन्दूहरूमध्ये अत्यन्त ठूलो संख्या नेपालभित्र प्रवेश गर्न सक्छन् । मानवीय आधारमा नेपालले सीमा नियन्त्रण गर्नु संभव नहुने मात्र होइन, नेपालमा शरणार्थी महासंकट उत्पन्न हुन सक्छ ।
तसर्थ, नेपाल सरकारले नेपालभित्रै आन्तरिक सुव्यवस्था (House in Order मा राख्न, बदलिँदो परिस्थितिमा देशभित्र अत्यावश्यक भइसकेको राजासहितको सर्वपक्षीय मेलमिलाप र सहमति कायम गर्न तथा समग्रमा एक ढिक्का भई तत्काल यस क्षेत्रमा शान्ति कायम गराउन पहल गर्न ढिलो गरिसकेको छ ।
पूर्वराजा ज्ञानेन्द्र भारतीय प्रधानमन्त्री मोदीसँग वार्ता गर्न केही दिनअघि भारतको ‘चिकेन नेक’ स्थित सिलिगुढी गएका हुन् भन्ने कसैलाई लागेको छ भने त्यो भ्रम मात्र हो । ज्ञानेन्द्र शाह युद्धको संघारमा रहेको सो क्षेत्रको अवस्थामा सामान्यीकरण गर्ने कूटनीतिक ‘मिसन’ मा आकस्मिक रूपमा त्यहॉ पुगेका हुन् । राजा ज्ञानेन्द्र भारत र बंगलादेश दुवैका लागि मान्य व्यक्तित्व हुन् । फेरि नेपाल, सार्कको अध्यक्ष भएको नाताले पनि राजा ज्ञानेन्द्रको उपस्थितिले ठूलो कूटनीतिक अर्थ राख्छ ।
नेपाल सरकारले नै राजालाई शान्ति मिसनका लागि राज्यकै आधिकारिकता प्रदान गर्नु पर्ने थियो । तर नेपालमा राजनीतिक पूर्वाग्रहले ग्रस्त नेतृत्व रहेकाले राजाको कूटनीतिक पहलप्रति अनदेखा गर्नु स्वभाविकै हो ।
बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद देश छोडेर नयाँ दिल्लीमा शरण लिएपछि बिग्रेको भारत र बंगलादेशको दुईपक्षीय सम्बन्धमा कटुता बढ्न नदिन राजा ज्ञानेन्द्रले पहल गरेपछि अहिले भारतीय सेना प्रमुख र बंगलादेशी सेनाका नेतृत्वबीच आमने सामने कुराकानी हुने अवस्था सिर्जना भएको छ ।
सुशीला सरकारले राजाको मिसनमा सहयोग नगरे पनि नेपाली सेनाबाट आवश्यक सहयोग पुगेको बताइएको छ । नेपाली सेनाले भारत र बंगलादेश बीच कटुता बढेर युद्ध भएमा नेपालको राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती थपिने आँकलन गरेको छ ।
यदि परिस्थिति जटिलतातर्फ उन्मूख भएमा नेपालमा आमचुनाव अनिश्चितकालका लागि पछाडि धकेलिने र संवैधानिक रिक्तता झनै विस्तार भएर जाने सुनिश्चित छ ।

प्रतिक्रिया