एमालेको प्रश्नः जेनजी नै सरकारविरुद्ध आन्दोलनमा छन्, कसरी हुन्छ चुनाव ?


काठमाडौँ । नेकपा एमालेले राजनीतिक दलहरू सधैँ चुनावको पक्षमा रहेपनि सरकारले तयारी नगरेको आरोप लगाएको छ ।

सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको निर्वाचन कानुन र व्यवस्थापनबारेको सर्वदलीय छलफलमा एमाले सचिव महेश बस्नेतले दलहरु सधैं निर्वाचनको पक्षमा रहेको बताए । उनले यही तरिकाले फागुन २१ मा निर्वाचन हुन नसक्ने बताए ।

कैदीहरु अझै फरार रहेका र लुटिएका सबै हतियार नियन्त्रणमा नआएकाले यस्तो अवस्थामा निर्वाचन हुन्छ भन्ने विश्वास गर्न नसकिने बताए । उनले ‘जलेका संरचना टुलुटुलु हेर्दै हामी चुनावमा जाने हो?’ भन्दै प्रश्न गरे ।

उनले भने, ‘लुटिएका हतियार कता छन् ? तिनको हालखबर के छ ? भागेका कैदी कुन अवस्थामा छन् ?’

उनले जेनजीहरु नै सरकारविरुद्ध आन्दोलन गरिरहेकाले निर्वाचन हुन नसक्ने कुरा स्पष्ट भएको बताए । उनले भने, ‘हाम्रो सिंहदरबारमा छलफल चलिरहेका बेला माइतीघर मण्डलमा जेनजीको आन्दोलन भइरहेको छ । यही बेला आन्दोलन भइरहेको छ भने देशभरको अवस्था कस्तो छ, सहजै अनुमान गर्न सकिन्छ ।’

छलफलमा सचिव बस्नेतले सरकारले ल्याएको निर्वाचन सम्बन्धी अध्यादेश स्वीकार गर्न नसकिने बताए । उनले अध्यादेशमा प्रतिनिधिसभाको मतपत्रमा दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट राखिने भन्ने कुरा आएको भन्दै त्यो स्वीकार्य नहुने बताए ।