काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले देशव्यापी आन्दोलन घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी समूहले आन्दोलन घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा ढुंगानाले भदौ २३–२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको बताए । उनले सोमबार माइतीघरमा ११ बजे भेला हुन आह्वान गरेका छन् । उनले सरकारले एक सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नगरेको आरोप लगाए । पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरे ।
उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरे । उनले जेनजी आन्दोलनमा सहभागी भएकाहरूलाई निशर्त रिहाइको माग समेत गरेका छन् ।
उनले सरकारले जबर्जस्ती राजदूत फिर्ता गर्दा अदालतको अवहेलना गरेको, सरकार नै जेनजीहरूलाई नै आक्रमण गर्ने, धरपकड गर्ने काममा लागेको, दशौँ वर्षदेखि अड्किएका भ्रष्टाचारका फाइल खोल्न नसकेको, अहिले पनि नियुक्ति र सरूवामा ठेक्का चलेको, शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको, निजी क्षेत्रलाई आस्वस्त पार्न नसकेको, यही देशमा बस्नुपर्छ भनेर आन्दोलन गर्नेहरूलाई विदेश पठाउने निर्णय गरेको, ठूला भ्रष्टाचारमा संलग्नहरूलाई अहिलेसम्म कारबाही गर्न नसकेको, राजनीतिक निकासका लागि संविधान संशोधन गर्नुपर्नेमा त्यसो गर्न नसकेको आरोप लगाएका छन् ।
ढुंगानाले केही संवेदनशील विषय बाहेक अन्य फैसलाहरू प्रत्यक्ष प्रसारण हुनुपर्ने बताए ।

प्रतिक्रिया