देशको नेतृत्व गर्ने विप्लवको चाहना


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रतिनिधिसभाको निर्वाचन तोकिएको मितिमै भयरहित वातावरणमा सम्पन्न गर्न सरकारसँग आग्रह गरेका छन् ।

शनिबार आयोजित जेनजी पुस्तासँगको अन्तरक्रियामा उनले फागुन २१ मै निर्वाचन नहुनेमा आशङ्का रहेको भन्दै सबैलाई आश्वस्त पार्ने गरी चुनावी वातावरण निर्माण गर्न आग्रह गरे । महासचिव चन्दले सुरक्षाकर्मी, कर्मचारीको मनोबल कमजोर भएको, लुटिएका केही हतियार फिर्ता नआएकालगायत कारणले तोकिएको मितिमा निर्वाचन नहुने होकी भन्ने चिन्ता रहेको उल्लेख गरे ।

उनले भने, ‘हामीले यो देश बनाउन धेरै सङ्घर्ष गरेका छौँ । बन्दुक पनि बोकियो, जेलनेल पनि भोगियो । हाल उद्योगधन्दा चलाउन सक्छौँ भनेर किसान, मजदुर, बद्धिजीवी, व्यापारी, मध्यम वर्गसँग अपील गरिरहेका छौँ । अब पार्टी चुनावमा जान्छ र एक पटक देशको नेतृत्व गरेरसेवा गर्ने चाहना छ ।’

महासचिव चन्दले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन, रोजगारी सिर्जर्नालगायत जेनजीले उठाएका माग सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको भन्दै त्यसका लागि सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।