शेखरको प्रश्नः देशको प्रधानमन्त्री भइसकेको व्यक्तिलाई स्थानहद गरेर कसरी चुनाव हुन्छ ?


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनको वातावरण बनाउन सरकारले फरार कैदी पक्राउ र लुटिएका हतियार फिर्ता लिनुपर्ने बताएका छन् ।

शनिबार विराटनगर वडा नम्बर ६ का स्थानीयहरुसँगको अन्तरक्रियामा कोइरालाले सरकारले फरार कैदी पक्राउ र हतियार नियन्त्रणमा लिने विषयमा ध्यान नदिएको बताए ।

उनले भने, ‘ जेजनी आन्दोलनका क्रममा पाँच हजार भन्दा बेसी कैदीहरू अहिले पनि फरार छन् । सार्प सुटर्सहरू फरार छन्। तिनीहरूलाई फेरि समातेर जेलमा हाल्नु पर्यो । सँगसँगै पाँच सात सय हतियारहरू लुटिएको छ। पुलिसबाट लुटेका छन् हतियारहरू । ती हतियारहरू पनि हामीहरूले लिनुपर्यो। सरकार त्यतातिर ध्यान दिइराखेको छैन।’

उनले देशको प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले स्थान हद तोकेको आपत्ति जनाए ।

उनले भने, ‘एउटा देशको प्रधानमन्त्री भइसकेको व्यक्ति, पार्टीको प्रमुख व्यक्तिलाई काठमाडौँ बाहिर, उपत्यका बाहिर जान नपाइने भनेर भनेको छ। अनि सरकार अर्कोतिर के भन्दै छ भने म चुनाव गराउँछु भनेर भन्दै छ। यो कस्तो चुनाव गराउन खोजेको ?’

कोइरालाले विश्वको कुनै पनि देश पाँच ६ घण्टामा जलेको थाहा नभएको भन्दै यो घटना प्रायोजित भएको खुल्दै गएको बताए ।