नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल


काठमाडौँ । नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई  गरिएको छ । सन् २०१७ देखि नेपालका लागि डेनमार्कका वाणिज्यदूत रहेका धरेललाई डेनमार्क सरकारको प्रस्तावमा परराष्ट्र मन्त्रालयले हालै महावाणिज्यदूतमा पदोन्नति गरेको हो ।

नेपालको अनररी कन्सलसम्बन्धी नियमावली २०३९(४) बमोजिम धरेललाई डेनमार्क अधिराज्यको कन्सल जनरल पदमा नियुक्त गरिएको हो । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा विगत ३५ वर्षदेखि व्यावसायिक रूपमा कार्य गरिरहेका धरेलले विगत आठ वर्षदेखि कूटनीतिक क्षेत्रमा पनि सक्रिय रही नेपाल–डेनमार्क सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न विभिन्न काम गर्दै आएका छन् ।

दुई देशबीच लामो घनिष्टसम्बन्ध रहिआएको र आगामी दिनमा पनि यसलाई अझ जनस्तरमा विस्तार गरी लैजान आफू क्रियाशील रहने महावाणिज्यदूत धरेलले बताए। विभिन्न कारण काठमाडौँबाट नयाँदिल्ली स्थानान्तरण भएको डेनमार्कको दूतावासलाई पुन: नेपालमै फिर्ता ल्याउन पहल गर्ने उनले उल्लेख गरे ।