काठमाडौँ । नेकपा एमालेका नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । शुक्रबार सामाजिक संजालमार्फत अधिकारीले ५० वर्ष लामो राजनीतिक जीवनबाट बिदा लिएको जानकारी गराएका हुन् ।
उनले यस अवधिमा असल कम्युनिष्ट बन्ने सपना भएपनि सबै मानकहरु पुरागर्न नसकेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालिन भएर काम गरें । जति दिन काम गरें पुरा मनले गरें । इमान, निष्ठा र समर्पणकासाथ गरें । तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थरुपमा गरें । म ल्याङल्याङे कार्यशैलीको विरोधी हुँ, जसरी पनि जिम्मा पुरागर्ने मेरो कार्यशैली रह्यो । नेकपा(एमाले)मा लगातार ३३ बर्ष केन्द्रीय सदस्य भएपनि म कहिल्यै नेता थिइनँ । म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ । समाज बदल्न हिंडेको वास्तबिक झोले कार्यकर्ता थिएँ ।’
उनले गुनासो गरेर नभई, नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गरेर राजनीतिबाट बिदा लिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्,‘मैले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते गरिन । सपना असल कम्युनिष्ट बन्ने थियो तर सबै मानकहरु पुरागर्न सकिन । अब पार्टीका कुनै पनि कमिटी र निकायमा रहने छैन । साधरण सदस्य रहेर पार्टी, समाज, र देशका हितमा यथासम्भव काम गरिरहनेछु । गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गरेर, खुसीले, ६६ वर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा भएको छु । लामो राजनीतिक जीवनमा म बाट भएका भूलचुकहरूप्रति सम्बन्धित सबैसँग क्षमा माग्दछु ।’

प्रतिक्रिया