ओलीको निर्देशनः एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्दछ र यो सरकार ढल्नुपर्छ


काठमाडौँ । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने चेतावनी दिएका छन् । बिहीबार शपथग्रहण समारोहलगत्तै सम्बोधन गरेका अध्यक्ष ओलीले एमाले नेतृत्वमाथि प्रहार गर्न खोजिए सरकार ढाल्ने चेतावनी दिएका हुन् ।

उनले एमाले नेतृत्वलाई छुन खोजे महंगो पर्ने चेतावनी दिए । अध्यक्ष ओलीले पार्टी नेतृत्वविरुद्ध भइरहेका विभिन्न प्रचार र हल्लाहरूलाई पञ्चायतकालीन कूकर्मको संज्ञा दिँदै त्यसको सशक्त प्रतिकार गर्न पार्टी पंक्तिलाई निर्देशन दिए ।

उनले भने, ‘एमाले नेतृत्वमाथि जाली मुद्दा लगाउने वा भौतिक हमला गर्ने प्रयास हुँदैछ । त्यसलाई सहन सकिँदैन र त्यस्तो अवस्थामा सरकार ढल्छ । म तपाईँहरूलाई भन्न चाहन्छु एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ । यो सरकार ढल्नुपर्दछ । यसका निम्ति नेकपा एमालेले देशभरिबाट तयारी हालतमा बस्नुपर्दछ ।’