जनसर्मथनप्रति ‘रेड स्यालुट’ गर्दै राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता


काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा उम्मेदवारी दिएका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा हिजो अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्टि जनाउँदै उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए । तर, आज बिहान सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता गरेको जानकारी दिएका छन् । बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

उनले भनेका छन्, ‘पार्टीको ११औँ महाधिवेशनको आज चौथो दिन हो । राष्ट्रिय संकट, चौतर्फी घेराबन्दीको बीचमा भएको यो महाधिवेशनमा जनताले देखाएको अपार सहभागिता, जनसर्मथनप्रति रेड स्यालुट गर्दै केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन हार्दिक अपील गर्दै पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिवको पदको उम्मेदवारी फिर्ता गरेको छु ।’ उनले केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन् ।