एमाले महाधिवेशन प्रतिनिधिलाई रक्षा बमको पत्रः यस्तो नेतृत्व छनोट गर्नुस्, जसले फेरि भदौ २३ ननिम्त्याओस्


काठमाडौँ । जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेकपा एमालेका महाधिवेशन प्रतिनिधिलाई खुला पत्र लेख्दै तत्कालीन सरकारको नेतृत्व गरेको एमाले अध्यक्ष केपी शर्मा ओली र उनको नेतृत्वको नैतिकताबारे प्रश्न उठाएकी छन् ।

आइतबार पत्र लेख्दै बमले विशेष परिस्थितिमा समयभन्दा एक वर्षअगाडि भइरहेको महाधिवेशनमा प्रतिनिधिहरूले पार्टीको अध्यक्ष र पदाधिकारी मात्र नभई, देशकै ठूलो दलको नेतृत्व छानिरहेको भन्दै उनीहरूको मतको महत्त्वमाथि जोड दिएकी छन् ।

उनले पत्रमा भनेकी छन्, ‘हामी यतिखेर शान्तपूर्वक तपाई प्रतिनिधिहरुको मत पर्खेर बसेका छौं। हामी तपाईँहरुको नैतिकता हेरिरहेका छौं। हामी तपाईहरुको देशप्रेम र देशका युवाहरुप्रतिको सद्भाव, महाधिवेशनको व्यालेट बक्समा कसरी खस्छ, त्यो कुरिरहेका छौं । आदरणीय प्रतिनिधिज्यूहरु, यतिखेर सबैभन्दा प्रमुख प्रश्न हो, केपी शर्मा ओलीको हात त हाम्रो पुस्ताको रगतले रंगिएको छ, के त्यो रगतको भागीदारिता तपाईँहरु पनि वहन गर्न तयार हुनुहुन्छ ? त्यसैले पनि सम्भवतः यो एउटा अन्तिम अवसर हो । तपाईँको पार्टीलाई सच्याउने, तपाईँहरू पनि सच्चिने र युगान्तकारी परिवर्तनको संवाहक बन्ने यो अवसर तपाईहरुले गुमाउनुभयो भने, तपाईहरुको पार्टीमात्र नभई देशको भविष्य नै अन्धकार हुनेछ ।’

यस्तो छ पत्र
आदरणीय एमाले महाधिवेशन प्रतिनिधिज्यूहरु,
विशेष परिस्थितिमा नियमित समयभन्दा एकवर्ष अगाडी नै हुँदैगरेको नेकपा एमालेको महाधिवेशनमा हामी तपाईँहरूको मत पर्खेर बसेका छौं।

निकै रस्साकस्सीबीच तपाईँहरु महाधिवेशन प्रतिनिधि चुनिएर आउनुभएको कुरा विभिन्न सन्चारमाध्यमहरुबाट हामीले थाहा पाएका छौं । अब तपाईँहरुको हातमा एउटा अभिभारा आइपरेको छ । तपाईँहरुले आफ्नो नेता, आफ्नो पार्टीको अध्यक्ष मात्र नभई, देशकै ठूलो मध्येको एउटा दलको अध्यक्ष र अन्य पदाधिकारीहरु पनि छान्दै हुनुहुन्छ । तपाईँहरुको भोटले तपाईहरुको पार्टीको कार्यदिशा र मार्गनिर्देशन तय गर्नेछ।

र यतिखेर हामी तपाईँहरु सबैलाई पुनश्चः सेप्टेम्बर ८ अर्थात् भदौ २३ सम्झाउन चाहन्छौं । भदौ २३ एउटा सामान्य मिति मात्र थिएन । त्यसदिन तानाशाही व्यवस्थाविरुद्ध, आफ्नो संवैधानिक हकका खातिर संवैधानिक अधिकारको प्रयोग गर्दै, एउटा उमेर समूह अर्थात् जेनजी पुस्ता सडकमा उत्रिएको थियो । तर निरंकुश सरकारले निहत्था विद्यार्थीहरुमाथि गोली वर्षायो । कलिला युवाहरु जो सुन्दर भविष्यका सपना देखिरहेका थिए, उनीहरुको हत्या गर्यो । कयौं विद्यार्थीहरुलाई घाइते बनायो । र तपाईँहरुलाई पुनश्चः स्मरण गराऔं, त्यस तत्कालिन सरकारको नेतृत्व तपाईँहरुकै पार्टीको अध्यक्षले गर्नुभएको थियो, तपाईँहरूले गर्नुभएको थियो ।

एमालेका नेतृत्वकर्ताहरूले भदौ २३ को घटनामा एकपटक माफी समेत मागेका छैनन बरु सधैजसो सार्वजनिक अभिव्यक्तिहरुमा गिज्याउँदै त कहिले सार्वजनिक मन्चहरुबाट गुण्डाहरुमार्फत धम्क्याउदै हामीमाथि निरन्तर आक्रमण गराउन कोसिस गरिरहेका छन् । तर हामी यतिखेर शान्तपूर्वक तपाईँ प्रतिनिधिहरुको मत पर्खेर बसेका छौं। हामी तपाईँहरुको नैतिकता हेरिरहेका छौं। हामी तपाईहरुको देशप्रेम र देशका युवाहरुप्रतिको सद्भाव, महाधिवेशनको व्यालेट बक्समा कसरी खस्छ, त्यो कुरिरहेका छौं।

आदरणीय प्रतिनिधिज्यूहरु, यतिखेर सबैभन्दा प्रमुख प्रश्न हो, केपी शर्मा ओलीको हात त हाम्रो पुस्ताको रगतले रंगिएको छ, के त्यो रगतको भागीदारिता तपाईहरु पनि वहन गर्न तयार हुनुहुन्छ ? त्यसैले पनि सम्भवतः यो एउटा अन्तिम अवसर हो । तपाईँको पार्टीलाई सच्याउने, तपाईँहरु पनि सच्चिने र युगान्तकारी परिवर्तनको संवाहक बन्ने यो अवसर तपाईहरुले गुमाउनुभयो भने, तपाईहरुको पार्टीमात्र नभई देशको भविष्य नै अन्धकार हुनेछ । तपाईँहरूको मन एकातिर मत एकातिर नहोस् । यसपटक यस्तो नेतृत्व छनोट गर्नुस् जसले फेरि भदौ २३ ननिम्त्याओस्।
एउटा तानाशाही शासकको अहंकारी गोलीबाट बाँचेकी, एक जेन जी आन्दोलनकारी।
– रक्षा बम