राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठ्योः खनाल


सुर्खेत । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेकपाको ‘एकता सन्देशसभा’मा उनले देशको विकासका खातिर समाजवाद आवश्यक भएको बताए ।

खनालले मुलुकमा विदेशी हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेकाले हरेक नागरिक राष्ट्र र राष्ट्रियताप्रति गम्भीर हुनुपर्ने बताए । फरक प्रसङ्गमा उनले भने, ‘पुँजीवादको अन्त्य र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्युनिष्ट मिलेर समाजवाद स्थापना गर्नुको विकल्प छैन ।’

सोही पार्टीका नेता नारायणकाजी श्रेष्ठले जनताको पार्टी नेकपा भएकाले यसलाई भ्रष्टाचार नगर्नेहरूको पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताए ।

उनले सबैलाई एकताबद्ध गराउनुपर्नेमा जोड दिँदै मजदुर, जनजाति, दलितलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्ने बताए । उनले देशलाई राजनीतिक रुपमा निकास दिन नेकपाको उदय भएको बताए ।