जेनजीसँग सरकारले सहमतिको हस्ताक्षर गर्दा दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न सक्नुपर्दथ्योः महामन्त्री शर्मा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजीबीचको सहमतिको स्वागत गरेका छन् । शुक्रबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले सरकार र जेनजीबीच सहमति गर्दा दलहरुलाई सहभागी नगराएकोमा भने असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘राजनीतिक दलहरू लोकतन्त्रको मुख्य र अविच्छिन्न सारथी हुन् भन्ने तथ्य हेक्का राखेर सरकारले सहमतिको हस्ताक्षर गरिरहँदा दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न सक्नुपर्दथ्यो । त्यसो गरेर ’भोलिका लागि भरपर्दोझ बनाउन सरकार नचुक्नु पथ्र्यो । विभिन्न आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्ने सहमति महत्त्वपूर्ण छ । मूलतः जेनजी प्रदर्शनले स्थापित गरेको ‘सुशासनको संकल्प र अठोट’ आगामी दिनका लागि सबैको साझा जिम्मेवारी र साझा कर्तव्य बन्नुपर्दछ । राजनीतिक दलहरू लोकतन्त्रको मुख्य र अविछिन्न सारथी हुन् भन्ने तथ्य हेक्का राखेर सरकारले सहमतिको हस्ताक्षर गरिरहँदा दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न सक्नुपर्दथ्यो । त्यसो गरेर ’भोलिकालागि भरपर्दो’ बनाउन सरकार नचुक्नु पथ्र्यो । अब दस्तावेजको प्रारम्भिक कार्यान्वयन क्रममा सरकारले यसमा गम्भीरता राख्न जरुरी छ । भदौ २३ को बल प्रयोग उपरको कारबाही सँगसँगै २४ गतेको ध्वंसको गहिरो छानबिन र कारर्बाहीको बिषयमा बिना मोलाहिजा राज्य प्रस्तुत हुनुपर्छ ।’

उनले समग्रमा दस्तावेज कार्यान्वयनमा अत्यावश्यक समय लगाइरहँदा फागुन २१ को मिति बाधक बन्न नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘समग्रमा दस्तावेज कार्यान्वयनमा अत्यावश्यक समय लगाइरहँदा फागुन २१ को मिति बाधक बन्नुहुन्न । हामी सबै त्यो मितिप्रती प्रतिबद्ध छौं । तर मुल प्रश्न समाधान र संविधान हो, अत जेनजी समूहहरुलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर बैशाखमा पुग्नुपरे त्यसलाई स्वभाविक रुपमै स्वीकार गर्नुपर्ने हुन्छ । सहमति र सहकार्य मार्फत आगामी यात्रालाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो ।’