देउवासँग अर्थपूर्ण छलफल भएको छ, त्यसको प्रभाव देखिन्छः अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण छलफल भएको बताएका छन् ।

बिहीबार पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले देशले पत्याएर पटकपटक प्रधानमन्त्री भएको र ठूलो दलको नेतालाई भेट्नु स्वाभाविक भएको बताए । भेटमा अर्थपूर्ण छलफल भएको र त्यसको प्रभाव देखिँदै जाने बताए ।

उनले भने,‘देउवाजीसँग भेट भयो र अर्थपूर्ण छलफल भयो । मेरो झुट बोल्ने बानी छैन । यसको प्रभाव देखिन्छ ।’

मंसिर १९ गते ओलीले महाराजगन्जस्थित निवासमै पुगेर कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका थिए। उनले कांग्रेस र एमालेलाई गाली गर्नुको कुनै तुक नभएको बताए । उनले अब पनि एमाले र कांग्रेसले नै देश चलाउने बताए । अहिले केही क्षणलाई ग्रहण लागेजस्तै मात्रै भएको उनले बताए ।

उनले भने, ‘एमाले र नेपाली कांग्रेस देशका दुई प्रमुख पार्टी हुन् । ऐतिहासिक पार्टी हुन्। इतिहासमा योगदान गरेका, जनाधार भएका पार्टी हुन्। आज एकछिन सूर्यग्रहण लागे जस्तै मात्रै भएको हो । आँधी, तुफान चले जस्तै हो। फेरि पनि हुने भनेको एमाले कांग्रेस नै हुन् । भोलि पनि यो देश चलाउने ।’

अध्यक्ष ओलीले देशमा १४३ वटा पार्टी भएकाले १४१ पार्टी मिलेर कांग्रेस र एमालेलाई जित्न चुनौती दिए । उनले भने, ‘१४३ पार्टीमा कांग्रेस र एमालेबाहेक १४१ वटा छन् । त्यस्तै लागे मिलेर एमाले र कांग्रेससँग लडे हुन्छ । लड्ने, जित्ने, सरकार बनाउने गरे हुन्छ । नाइँ नास्ती हुँदैन ।’

उनले जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन जाने नजाने कुरा आफ्नो व्यक्तिगत कुरा भएको बताए । उनले भने, ‘बयान दिन जाने नजाने मेरो कुरा हो । कानुनी व्यवस्था के छ मैले नि हेरेको छु ।’