काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा सरकार नेकपा एमालेको महाधिवेशन भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
बिहीबार सामाजिक संजालमार्फत गिरीले सरकारमा रहेका व्यक्तिहरूले हिजो, अस्ति रातिसम्म गरेका भेटघाटले थप संशय पैदा गरेको बताएका हुन् । उनले सरकारको यो षड्यन्त्रमा संलग्न हुने भित्र वा बाहिरका जो कोहीलाई पनि इतिहासले माफी नदिने चेतावनी दिएका छन् ।
उनले भनेका छन्, ‘नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन भाँड्न देशी विदेशी शक्तिको आडमा सरकारमा रहेका व्यक्तिहरूले हिजो,अस्ति रातिसम्म गरेका भेटघाटले थप संशय पैदा गरेको छ । वर्तमान सरकारले हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि जुन किसिमको षड्यन्त्र गरिरहेको छ हेक्का रहोस्, सरकार स्वयंले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ । साथै सरकारको यो षड्यन्त्रमा संलग्न हुने भित्र वा बाहिरका जो कोहीलाई पनि इतिहासले माफी दिने छैन।’
जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन नगएपछि ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने तयारी भइरहेको समाचार आएको बेला गिरीको यस्तो भनाई आएको हो ।
एमालेको महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ । शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । बाँकी कार्यक्रम भने काठमाडौंको भृकुटीमण्डपमा गर्ने तय भएको छ ।

प्रतिक्रिया