जनमत सङ्ग्रहमा जानुपर्ने दुर्गा प्रसाईँको मागका विषयमा पुस २ गते छलफल हुने


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट तथा छलफल गरेकी छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा आएको टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल सहभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको सहजीकरण गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री कार्कीले आफूहरु पनि बेथिति र भ्रष्टाचार नियन्त्रण गर्नकै लागि आएको उल्लेख गर्दै सरकार त्यसका लागि प्रयासरत रहेको बताइन् । प्रसाईँले उठएका कतिपय माग जेनजी आन्दोलनका क्रममा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो दायित्व रहेको उनको भनाइ थियो । तर ऋण मिनाहा गर्ने विषय भने राज्यले कसरी थेग्न सक्छ भनेर विचार गर्नुपर्ने उनको धारणा थियो ।

प्रसाईँले अघि सारेका मागका विषयमा आगामी दिनमा छलफल गर्दै जाने समझदारी भएको जनाइएको छ । अभियानका नेता प्रसाईँले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरुप भगवती दुर्गाको मूर्ति प्रदान गरेका थिए । प्रसाईँले आफ्ना मागबारे प्रस्ट्याउँदै आफ्ना कुरा सुन्न तयार भएकामा सरकारलाई धन्यवाद पनि दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुुसार शान्तिपूर्ण वार्ताका माध्यमबाट सडकको आवाज सुन्ने वातावरण बनाइदिएको भन्दै उनले गृहमन्त्री ओमप्रकाश अर्यालको पनि प्रशंसा गरे ।

यता, प्रधानमन्त्री कार्कीसँगको छलफलपछि सञ्चारकर्मीसँगको संवादमा प्रसाईले सर्वदलीय तरिकाले जनमत सङ्ग्रहमा जानुपर्ने माग राखेको बताए । उनले प्रधानमन्त्री कार्कीले आगामी पौष २ गतेसम्म त्यसबारे निर्णय गर्ने आश्वासन प्राप्त गरेको समेत बताए ।