काम गर्दागर्दै आफ्नो सरकार ढालिएका कारण भूमिहीनको समस्याको पूर्ण समाधान गर्न सकिएनः प्रचण्ड


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताएका छन् ।

नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिको सोमबार ज्ञापनपत्र बुझ्दै संयोजक दाहालले यस्तो बताएका हुन् । पछिल्लो सरकारको नेतृत्व गरेको अवधि चितवन, महोत्तरीलगायत स्थानबाट भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानको काम सुरु गरिएको भए पनि पछिल्ला सरकारहरूले यसतर्फ आवश्यक पहल नगरेको उनले उल्लेख गरे ।

साथै, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता व्यक्त गरे । नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले देशभरका भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि तत्काल पहल गर्न नेपाली कम्युनिष्ट पार्टी समक्ष आग्रह गरेको हो ।

समितिका अध्यक्ष अजय वैगारसहितको केन्द्रीय कार्यसमितिले आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा संयोजक प्रचण्डलाई भेटी ज्ञापनपत्र बुझाएको हो ।

दीर्घकालीन रूपमा भूमिहीन, सुकुम्वासी तथा विपन्न नागरिकको जीवनस्तर सुधारका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै समितिले त्यसका लागि सक्रिय पहल गरिदिन आग्रह गरेको छ ।