-ऋषि कट्टेल ।
एमालेहरु जवजलाई मार्गदर्शक सिद्धान्त मान्छन् । उनीहरु यसलाई नविन विचार भनेर गुड्डी हाँक्छन् र कम्युनिष्ट आन्दोलनमा भ्रम सिर्जना गर्दछन् । यी विसर्जनवादका मतियारहरु जवज भनेको प्रतिस्पर्धावाट श्रेष्ठता हासिल गर्ने र देश अनि पार्टी चलाउने सिद्धान्त भनेर फलाको हाल्छन् । तथ्यहरुले के पुष्टि गरेको छ भने एमाले पार्टी भित्रको प्रतिस्पर्धा भनेको जसरी पनि पार्टीको नेतृत्व कब्जा गर्नु, गुटहरुको सञ्जाल खडा गर्नु अनि कमजोर गुटलाई विस्थापित गरेर लुटतन्त्रमा एकाधिकार कायम गर्नु र विचारको वहसलाई निषेध गर्ने हतियारको रुपमा प्रयोग गर्ने ।
पाँचौ महाधिवेशन देखिनै यही क्रमको निरन्तरता छ । पाँचौँ महाधिवेशनमा जवजको विरोध गर्नेलाई भोलेन्टर लगाएर नपुगेर मनमोहनसमेतलाई बोल्न नदिएर मदनका गुण्डाहरु प्रयोग गरेर हुटिङ गरेको इतिहास जिउँदैछ । त्यो देखेर भारतीय कम्युनिष्ट पार्टी मालेका महासचिव विनोद मिश्रले (हाम्रो चलनमा चैते भन्ने गरेकोलाई उनले न्युकमर भने ) अब यो पार्टीवाट क्रान्ति हुँदैन भनेको कुराको साक्षी म आफैं छु ।
छैटौंमा देशघाती महाकाली सन्धी पास गराउन गरिएको षड्यन्त्र र त्यसले झण्डै ४५ प्रतिशत नेताकार्यकर्तामाथि चलाएको जवजको डण्डापनि इतिहासमा अंकितनै छ । आठौंमा जितेका झलनाथले के भोगे जगजाहेर छ । नवौंमा पुगेपछि त यी सबै वेइमानीका जड माधवकुमार नेपाल आफैं खेदिए । १० औं मा प्रतिस्पर्धा गर्न चाहने रावल भूसालहरु के गरिरहेका छन् सबैले देखेका छन् । अब ११ औं मा के हुन्छ । जगजाहेर छ । ओली गुटले ईश्वर गुटलाई बढारीदिन्छ । त्यसकारण जवजको कथित प्रतिस्पर्धा मदनले गुण्डाहरु प्रयोग गरेर पार्टी कब्जा गर्न बनाएको षड्यन्त्रात्मक योजना हो । यो कुनै नीति विचार हैन । यो पूर्णरुपमा असफल भैसकेको छ ।
दोस्रो प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गरेर राज्य चलाउने कुरा । पटक पटकका घटनाले यो पनि गलत सावित भइसकेको छ । २०५१ मा मनमोहनको सरकार किन ढल्यो ? २०६४ मा दाहाल सरकार किन हट्यो ? ७४ मा ओली सरकारलाई कसरी अदालतले अपदस्त गर्यो । अहिले संसदमा स्पष्ट बहुमत भएको ओली सरकार सेनासँग हारगुहार गरेर ज्यान जोगाउन किन भाग्नु पर्यो ? के जवाफ छ जवजवालासँग ।
यी विसर्जनवादीसँग कुनै जवाफ छैन । राज्यसत्ता वर्गीय हुन्छ । मानव समाजको विकासको इतिहास वर्ग संघर्षको इतिहास हो । जवज वर्ग संघर्ष विरोधी विचार हो । त्यसकारण यो विसर्जनवाद हो । यो विसर्जनवादको थांग्नो फ्याँक्न सकेनौ वालुवाटार र बालकोटबाट मात्र हैन गुण्डुबाट पनि तिमीहरु लखटिनेछौ । किनकी तिम्रो जवज भ्रम हो भन्ने कुरा प्रमाणित भैसकेको छ ।

प्रतिक्रिया