लुम्बिनी विकास कोषको सदस्य–सचिवलाई प्रधानमन्त्री निर्देशन : ‘धर्मको हेक्का राखी काम गर्नु’


काठमाडौं ।  लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य-सचिव दीपक श्रेष्ठलाई प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिएकी छन् ।

सदस्य-सचिव पदमा मनोनीत भएपछि ३६ वर्षीय श्रेष्ठलाई प्रधानमन्त्री कार्कीले यस्तो निर्देशन दिएकी हुन् ।

‘तपाईंलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ, इमानदारी साथ त्यो पूरा गर्नुहोला । त्यो (लुम्बिनी) धार्मिक संस्था हो । धर्मको हेक्का राखेर काम गर्नुहोला’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईंको अहिलेको कामले भविष्यमा तपाईंका सन्ततिले पनि शीर ठाडो पारेर हिँड्न सकून् । गौरव गर्न सकून् ।’

श्रेष्ठले पनि उक्त संस्था र पदको गरिमामा आँच आउन नदिनेगरि इमानदारीसाथ काम गर्ने प्रतिवद्धता जनाए । गोरखाको सहिद लखन गाउँपालिका-६ का श्रेष्ठले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव संगालेका छन् ।

मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेका उनले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी गरेका छन् । केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेपछि श्रेष्ठ २०६७ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए ।

संस्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटिएका थिए ।

अख्तियारमा उनले ८ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गरे । उनलाई खानेपानी संस्थान र अख्तियार गरी दुवै संस्थाले उत्कृष्ट कार्यसम्पादनका लागि पुरस्कृत पनि गरेका थिए ।

इमानदारीसाथ राम्रो अनुसन्धान गरेकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ मा उत्कृष्ट कर्मचारी घोषित गरी पुरस्कार नै दिएको र संस्थानले पनि विभिन्न समयमा पुरस्कृत गरेको उनले बताए ।

अख्तियारमा रहेकै बखत बढुवा भएपछि श्रेष्ठ २०७८ मा खानेपानी संस्थानमै फर्किए । पछिल्लो समय उनले संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरिरहेका थिए ।

‘हामी केवल जागिर मात्र खाने होइन । जहाँ पुगे पनि जागिरे मानसिकताबाट माथि उठेर नतिजा देखिने गरी काम गर्नुपर्छ’, उनले भने ।