रास्वपाको कार्यालयको भित्तामा उज्जवल थापाको फोटो देख्न पाइयोस्


-सुरेश आचार्य

वैकल्पिक राजनीतिका प्रेरक उज्जवल थापाको यो फोटो मेरो मानसपटलमा घुमिरहन्छ । म भन्दा धेरै वर्ष स्कूले जुनियर भाइ भएपनि उज्जवलको मसँग आत्मिय सम्बन्ध थियो । उज्जवल भाइ स्वर्गबास भए पनि अमर प्रेरणाका स्रोत बनेर नेपाली मनहरू माझ जीवन्त रहन सकेकामा म प्रभावित भएको छु । राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील पार्टी बीच एकीकरणको घोषणाका सहमति पत्रमा उज्जवल थापाका कामलाई दस्तावेजीकरण गर्ने सहमति भएकोमा मलाई खुशी लागेको छ । वास्तवमा यही हो, नयॉ सोंच र कार्यशैली भनेको । अरूको काम र इतिहासको सम्मान गर्न सिकौं । यो संयुक्त पार्टीको कार्यालय कुनै दिन मैले भ्रमण गरेछु भने उज्जवल थापाको फोटो भित्तामा राखेको मेरो ऑखाले खोज्नेछ ।

उज्जवलले मलाई १४ वर्षअघि लैनचौरको एक होटेलमा धन्नै २ घण्टा उनको वैकल्पिक राजनीतिको blueprint देखाउँदै त्यसका बारे व्याख्या गरेका थिए । मैले केही सुधार गर्नुपर्ने ठाउँ औंल्याएको थिएँ । समय बित्दै गयो, उनी संसदीय निर्वाचनमा काठमाडौं ५ नम्बरबाट चुनावमा खडा हुन थालेपछि निक्कै चर्चामा आए ।

संविधानसभाबाट संविधान निर्माणको क्रम चल्न थालेपछि एक दिन मलाई उज्जवलले फोन गरेर ‘दाइ ! संविधान निर्माणका लागि हामीले सडक प्रदर्शन गरेर दबाब सिर्जना गराउन छिट्टै अभियान चलाउँदै छौं, त्यो अभियानमा संविधान निर्माणमा भइरहेको खर्चका बारेमा तपाईले प्रकाशन गर्नु भएको ‘रिसर्च पेपर’ लाई उपयोग गर्न चाहन्छु, तपाईंको अनुमतिको लागि फोन गरेको’ भने ।

वास्तवमा संविधान निर्माणका क्रममा मेरा कामहरूलाई सराहना गरेर उज्जवलले ‘कपिराइट’ को ‘ईश्यू’ उठ्ला भनेर मसँग अनुमति मागेको कुरा मैले बुझिहालें । मैले ‘उज्जवल भाइ मसँग सम्बन्धित सबै प्रकाशनहरू जे–जे चाहिन्छ, उपयोग गरे हुन्छ, आवश्यक पर्छ भने म लेखेर नै अनुमति दिनसक्छु’ भनेँ । उनले ‘दाइले बचन दिइसकेपछि मलाई लिखितमा चाहिन्न’ भनेँ !
यो तलको पोष्ट गरिएको स्वर्गीय उज्जवल थापाको ‘आइकोनिक’ तस्बिरमा उनले हातमा बोकेको पुस्तिका संविधान निर्माणको त्यही अति खर्चिलो मेरो ‘रिसर्च पेपर’ सँग सम्बन्धित थियो । उनले केही दिन अघि नै ‘दाइको डेटाहरू यसरी प्रयोग गर्न लागेको छु’ भनेर पनि मलाई अग्रिम जानकारी गराएका थिए । उनी कसैको पनि धन, मेहनत र कामको दुरूपयोग गर्दैन थिए, उज्जवल थापाको यही गुणले उनको अल्पायूमा नै कोविदले निधन भए पनि असंख्य सहयोगी मित्रहरू बनाउन सकेका हुन् ।
उज्जवल भाइको वैकल्पिक राजनीतिले अब २०८२ सालको निर्वाचनमा परिणाम देखाउने मैले विश्वास लिएको छु । उज्जवलसँगका मेरा धेरै अनुभूतिहरू छन्, पछि पनि लेख्दै गरौंला ।

उनले विवेकशील अभियानलाई राजनीतिक दलको रूपमा रूपान्तरण गर्नुअघि पनि मसँग लामो छलफल गरेका थिए । उनको दलमा मलाई संलग्न गराउने ईच्छा धेरैपटक मलाई व्यक्त गरेका हुन् । नयॉ क्षेत्रमा प्रवेश गर्ने बेला उनलाई आत्मबलको पनि आवश्यकता थियो । मैले आफ्ना लागि केही गर्न नसके पनि, अरूका लागि भने मलाई ठूलै भरोसा सम्झिन्थे, उज्जवल ।
मैले उज्जवलका कार्यमा आफैं प्रत्यक्ष संलग्न नहुने, तर परोक्ष रूपमा मैले गर्नु पर्ने कुनै पनि सहयोग मैले गर्ने बचन दिएको थिएँ । हाल अमेरिकामा पिएचडी गरेर अध्यापनमा संलग्न दार्चुला निवासी उपेन्द्र बम र तेह्रथुम निबासी सेडरगेट कम्प्युटरका भाइ तुलसी रम्तेल (Tulsi Ramtel) ले पैतृकथलो स्याङ्जा भएका उज्जवलँग सुरूमा मलाई भेटघाट गराएका हुन् । म, सेब्सको अध्यक्ष हुँदा मेरो पहिलो कार्यकालमा उपेन्द्र र दोस्रो कार्यकालमा तुल्सी सेब्सको महासचिव थिए ।