हामी जेनजीको आवाज बोक्ने र भ्रष्टाचारीलाई खबरदारी गर्छौंः भीम रावल


धनगढी । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले निर्वाचनका लागि जनताको ताजा जनमत लिन आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

शुक्रबार कैलालीको धनगढीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै रावलले निष्पक्ष निर्वाचनको वातावरण सरकारले बताउनुपर्ने बताए ।

उनले भने, ‘निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन गर्ने वातावरण यो सरकारले बनाउनुपर्छ ।’ रावलले पार्टीलाई शक्तिशाली बनाएर अगाडि बढ्ने पनि बताए । उनले विगतका कमजोरी नदोहोर्याउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते होस् वा अरु दिन प्रमुख राजनीतिक शक्ति नेपाली कम्युनिस्ट पार्टी हुन्छ । हामी विगतका कमजोरीलाई दोहोर्याउँदैनौँ ।’

उनले जेनजी आन्दोलनको समयमा सुरक्षा परिषद् बैठकसमेत बोलाउन नसकेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर चढेर भाग्नुपरेको बताए ।

उनले भने,’सुरक्षा परिषद्को बैठकसमेत डाक्न नसकेर बालुवाटारबाट हेलिकप्टरबाट भाग्ने केपी ओलीजी जस्ता भक्तपुरको कुनामा बसेर जनतालाई धम्क्याउने थर्काउनेलाई रोक्न तपाईंहरू सचेत हुनुस्। तपाईंहरूलाई नेतृत्व दिन नेपाली कम्युनिस्ट पार्टी तयार छ।’

उनले सरकाले लुटिएका हतियार तत्काल नियन्त्रणमा लिनुपर्ने बताए । उनले नेपाली कम्युनिस्ट पार्टीको यो यात्रालाई अब जनताको भावनालाई समेटेर अघि बढाउने बताए । आफ्नो पार्टीले जेनजीको आवाज बोक्ने र भ्रष्टाचारी कुशासन ल्याउनेहरूलाई खबरदारी गर्ने बताए ।