कुलमानले मंसिर १७ गते उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा गर्ने


काठमाडौं । उज्यालो नेपाल पार्टीले मंसिर १७ गते ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक घोषणा गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले मंसिर १७ गते काठमाडौंमा घोषणा गर्ने जानकारी गराएको हो ।

कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र (२०८२, औपचारिक रूपमा सार्वजनिक गरिनेछ, जसमा पार्टीको सैद्वान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजनालाई स्पष्ट रुपमा प्रस्तुत गरिनेछ ।

उज्यालो नेपाल पाटीले संविधानका उपलब्धिहरूलाई आत्मसात् गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा, प्रभावकारी सेवा प्रवाह लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न दर्ता भएको उनीहरुको भनाई छ ।

कार्यक्रमको प्रमुख अतिथि उर्जामन्त्री कुलमान घिसिङ रहने पार्टी नेता महेन्द्र लावतीले जानकारी दिए । लोकतन्त्र, विधिको शासन, सामाजिक न्याय र सेवाप्रवाह मार्फत सामाजिक आर्थिक रुपान्तरण गर्न उज्यालो नेपाल पार्टी हालसालै दर्ता भएको हो ।