काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरुले बुधबार काठमाडौंमा विशेषम भेला आयोजना गरेका छन् ।
बुधबार राष्ट्रियसभा गृहमा आयोजित भेलालाई विशेष महाधिवेशन पक्षधर नेताहरुले सम्बोधन गरेका छन् । भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले १५ औँ महाधिवेशन समयमै नगर्ने देखेपछि बाध्य भएर विशेष महाधिवेशनको अभियान चलाएको बताए ।
उनले जेनजी आन्दोलन देशको राजनीतिसँगै पार्टी नेतृत्व पनि परिवर्तन अपरिहार्य भएको बताए । उनले विशेष महाधिवेशनको माग विधानसम्मत भएको यसलाई टार्न नसकिने बताए । उनले भने, ‘विशेष महाधिवेशन माग गरेका छौँ। केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको छ। अगाडिका महाधिवेशन ४ वर्षमा भएनन्। ५ वर्षमा भएनन्। अब यस्तो हुनुहुँदैन। हाम्रो विधानको व्यवस्थालाई सुचारु गर्नुपर्छ । हामीले महाधिवेशन प्रक्रिया अघि बढाउन भन्यौँ, तर सुनिएन।’
उनले संसारका कीर्तिमानहरूलाई भंग गरेर केन्द्रीय कार्यसमिति बैठक बसिसक्दा पनि महाधिवेशनबारे निष्कर्षमा पुग्न नसक्नु दुःखद भएको बताए ।
उनले भने, ‘केन्द्रीय कार्यसमितिको बैठक विश्वमा कीर्तिमान राख्ने गरी डेढ महिनादेखि बसिरहेको छ । सबैभन्दा लामो बैठक चिनियाँ कम्युनिस्ट पार्टीका २३ दिन बसेको रहेछ । तर, संसारका कीर्तिमानहरूलाई भंग गरेर बैठक बसिसक्दा पनि निष्कर्षमा पुग्न सकेका छैनौँ । यो दुःखद हो ।’
उनले बिहीबारका लागि बोलाइएको बैठक पनि सर्ने हाल्ला सुनेको भन्दै पार्टीमा बैठक बस्ने भन्दा सर्ने हल्ला नै सावित हुँदै आएको बताए ।
घिमिरेले ३६ वर्षसम्म सरकारमा रहेको कांग्रेस कमजोरी समीक्षा गर्नुपर्ने अवस्थामा पुगेको पनि बताए । भेलामा संस्थापन र संस्थापनइतर पक्षका केही केन्द्रीय सदस्यहरू पनि उपस्थित छन् । असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने निष्कर्ष निकाल्न सकेको छैन ।

प्रतिक्रिया