-ऋषि कट्टेल
एमालेले महाधिवेशन नामको कुम्भ मेला गर्न लागेको कुरा अहिले राजनीतिक चर्चाको शिखरमा छ । त्यसो त एमाले संसदीय दलहरुमा सबैभन्दा ठूलो दल पनि हो । त्यसैमा पनि सरकारवाट भर्खरैमात्र गलहत्याइएको र अरु पार्टी नयाँ सरकारको पक्षमा रहेका बेला एमाले एक्लै प्रतिपक्ष र सडकमा पनि भएकोले उसको समर्थन वा विरोधले संसदीय राजनीतिमा चर्चा हुने नै भयो । जसरी ७४ अगाडि प्रचण्डको र माओवादी केन्द्रको हुनेगर्दथ्यो ।
महाधिवेशनले नीति र नेतृत्व निर्धारण गर्दछ नै । एमालेको पाँचौ र छैटौ महाधिवेशनमा म स्वयं सहभागी थिएँ । पाँचौंमा जवज पास गरेर पुँजीवादमा आत्मसमर्पण गर्ने र नयाँजनवादलाई विस्थापित गर्ने गल्ती गर्यो । छैटौंमा पुगेपछि त यसलाई निरन्तरतामात्र दिएन त्यसभित्र रहेको सामन्तवाद साम्राज्यवाद विरोधी अवधारणानै खारेज गर्यो र देशघाती माहाकाली सन्धि समेत पारित गर्यो । यसरी एमालेको छैटौ महाधिवेशनले एमालेलाई विसर्जनवादी र देशघाती पार्टीमा पतन गरायो । आजसम्म तिनै प्रतिक्रियावादी मालिकको जुठोपुरोमा एमाले ठूलो पार्टीको रुपमा देशमा लुटतन्त्र चलाइरहेको छ ।
दशौं महाधिवेशनपछि ओली वैचारिक रुपमा विसर्जनवादको अझै इमान्दार भरिया बने । तर महाकालीमा भएको देशहित विरोधी कुराले उनमा अलिकति चेत खुलेको जस्तो देखियो । राष्ट्रियताको मामलामा अलि अगाडि आए । नाकाबन्दीको विरोधमा जुधे, चीनसँग व्यापार वाहन सन्धी गरे, चुच्चे नक्सा सार्वजनिक गरे, पास गर्छु भन्दाभन्दै पनि आफ्नो कार्यकालमा एमसीसी पास गराएनन् र पछिल्लो समय बीआरआईमा सम्झौता गरे । यसैकारण मालिकहरु ओलीसँग चिढिए र सरकारबाट झिंगा टिपेर फालेझैं फालिदिए ।
अब एघारौं महाधिवेशमा एमाले छ । सत्ताको लागि फेरि देशघाती र विसर्जनवादसँग आत्मसमर्पण गर्ने की पुराना गल्तीलाई सच्याएर देश र जनताको पक्षमा उभिने ? ओली र एमालेको भविष्य यसैले निर्धाण गर्दछ । ओलीले १) देशघाती महाकाली सन्धीको विरोध २) देशघाती एमसीसीको विरोध र ३) सान्तवाद साम्राज्यवादको विरोध । यो महाधिवेशनबाट यि नीतिहरु पास गराए भने एमालेलाई विसर्जनवाद र देशघाती पार्टीबाट मुक्त गर्न सक्दछन् र एमालेलाई पतन हुनबाट जोगाउन सक्दछन् । नत्र यो कुम्भ मेलाको कुनै अर्थ छैन ।

प्रतिक्रिया