काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूमाथि मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय भएको बताएका छन् ।
आइतबार विराटनगर विमानस्थलबाट बाहिर निस्कनेक्रममा आफूमाथि आक्रमण भएपछि बस्नेतले लोकतन्त्रमा विरोधको मर्यादा हुने बताएका हुन् ।
उनले भनेका छन्, ‘विराटनगर विमानस्थलमा हामीमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन । प्रहरीको तत्परताप्रति धन्यवाद।’
उनले हिंसाले नभई विचार र संवादले मात्रै मुलुक अगाडि बढ्ने बताए । उनले भने, ‘हिंसा होइन—विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ । अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन । बाधाका बीच अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु हुँदैछ। ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको यो अभियान देशभर नयाँ प्रेरणा फैलाउनेछ।’
बस्नेतसहितको टोलीलाई जेनजी युवाले विमानस्थलबाट बाहिर निस्कने क्रममा गेटनजिक रातो मसी छ्यापेका थिए । त्यसमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया