भोलेन्टियर फोर्सले सुरक्षाकर्मीका खोसिएका हतियार फिर्ता ल्याउने महेश बस्नेतको दाबी


काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार र भागेका कैदीलाई फिर्ता गराउन पहल गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा युथ भोलेन्टियर फोर्सको केन्द्रीय कमान्ड घोषणा कार्यक्रममा बस्नेतले युथ भोलेन्टियरर्स फोर्सले प्रहरीको मनोबल बढाउन जलेका ५ सय प्रहरी चौकी पुनर्निर्माण गर्ने बताए ।

उनले भने, ‘रवि लामिछाने र रास्वपा पार्टीका कारण १४ हजार कैदी भागे, प्रहरीका १२ सय हतियार लुटिए । आतंकवादी शैलीमा प्रहरीको ड्रेस खोसियो । अब भोलेन्टियर फोर्सले खोसिएका हरियार फिर्ता ल्याउने छ । भागेको कैदी भित्र ल्याउन सहयोग गर्नेछ।’

उनले फोर्सले भूकम्प, बाढीपहिरो र आगजनीको प्रकोपमा उद्धारको काम गर्ने बताए । उनले कानून हातमा लिने नभई राज्यको काममा सहयोग गर्ने बताए ।

उनले भने, ‘अबको दिनमा सिंहदरबार जल्ने छैन, राज्यका सम्पत्ति र उद्योगधन्दा जल्न पाउने छैन । एमालेको शुभचिन्तक र नेतालाई तह लगाउन खोज्ने चोर, डाँका, लुटेरा र आगजनी गर्नेहरूलाई ठाउँका ठाउँ प्रतिरोध गरेर ठीक पार्ने छौं ।’ केन्द्रीय कमान्ड घोषणा अघि भोलन्टियर फोर्सले काठमाडौंमा मार्चपास गरेको थियो ।