सिमरामा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई आयोगको निर्देशन


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षाको स्थिति मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ ।

बाराको सिमरामा नेकपा (एमाले)का कार्यकर्ता र ‘जेनजी’बीच झडप भएको सन्दर्भमा आयोगले एकार्काको अधिकारको सम्मान गर्न पनि आग्रह गरेको हो ।

आयोगले विज्ञप्ति जारी गरी भनेको छ, ‘शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।’

संयमताका साथ स्थितिलाई सामान्यीकरण गराउने कार्यमा सहयोग गर्न समेत आयोगले सबैलाई आग्रह गरेको छ । यस किसिमका घटनाले निर्वाचनको वातावरण नबन्ने भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ ।