साढे २८ लाख मत ल्याएको पार्टीले अहिले संयम् गुमाउने केही युवाहरुसित मुख जुधाएर चुनाव हुँदैन भन्न सुहाउँछ ?


डा. जीवन क्षेत्री
बुधबार सिमरामा जे भयो, त्यो दुःखद र दुर्भाग्यपूर्ण छ । हिजोअस्ति आज हुने भनिएको एमालेको कार्यक्रम रोक्ने भनेर केही ‘जेनजी’हरुले प्रचारवाजी गरेको पनि अनलाइनखबरको सम्पादकीय पढ्दा थाहा लाग्यो । कुनै पनि खाले निषेध र राजनीतिक हिंसा नेपालका लागि पूर्णतः अस्वीकार्य कुरा हुन् । तर सिक्काका जस्तै यथार्थका पनि दुई पाटा हुन्छन् । जनस्तरको कुरा म भन्न सक्दिनँ तर एमालेको अहिलेको नेतृत्वले कुनै पनि हालतमा फागुनमा चुनाव चाहेको देखिन्न । भदौ २३–२४ र त्यस अघिका महिनाहरुमा सत्तामा रहँदा तत्कालीन ओली सरकारले जे गर्यो, त्यो देखाएर जनतामा जान लायक कुरा केही पनि छैन । त्यसैले देश भड्खालोमै जान्छ भने पनि फागुनमा चुनाव नहोस्, त्यसपछि ‘देखा जायगा’ भन्नेजस्तो मनसाय ओली र उनको जयगानमा सीमित एमाले नेताहरुले बारम्बार देखाएका छन् ।

चुनावको वातावरण बनाउने दिशामा हामी नागरिकको जस्तो अपेक्षा थियो, त्यसमा, खास गरी व्यवहारिक पक्षबाट सुशीला कार्कीको सरकार अब्बल निस्कन नसकेको कुरा साँचो हो । तर पनि चुनाव गराउने सरकारको नियतमा चाहिँ अहिलेसम्म एमालेका सीमित नेताबाहेक अरुले प्रश्न गरेको देखिंदैन । नियत सफा रहुन्जेल यो सरकारलाई खेद्नुभन्दा भरथेग गरेर अहिलेको चुनौतीपूर्ण संक्रमणकालबाट देशलाई पार लगाउन समयमै चुनाव सम्पन्न गर्नुपर्छ भन्ने कुरा एमालेबाहेकका राजनीतिक दलहरुले पनि बुझिसकेका छन् । हामी आमनागरिकले चाहेको पनि त्यही हो ।

यो माहौलमा सिमरा घटनालाई चुनाव भाँड्ने वहाना बनाउन एमाले नेताहरु युद्धस्तरमा लागि परेको देखिएको छ । एमाले मित्रहरु, यो त्यस्तै मनोविज्ञान हो जुन परिवारको अर्को सदस्यविरुद्धको प्रतिशोधका कारण घर जलाएर खरानी बेच्ने मानिसको हुन्छ । अर्काको भाग धेरै रहने घरभन्दा आफ्नो भाग धेरै रहने खरानी प्यारो भन्ने मनोविज्ञान हो यो । एमालेभित्रबाट हेर्दा के देखिन्छ थाहा छैन, तर बाहिरबाट देखिने कुरा यही हो ।

एकछिनलाई मानौं बुधबारको सिमरा घटनाका लागि जेनजी युवाहरु एकल जिम्मेवार थिए । भलै काउन्सिल अफ जेनजीका मधेस प्रदेश संयोजक शिव यादवका अनुसार यो घटनाका लागि ‘एमालेका गुण्डाहरु’ जिम्मेवार छन् । तैपनि मानिलिऔं आज एमाले एकोहोरो निषेधको शिकारै भयो ।

त्यसको जवाफ केही दर्जन युवालाई वहाना बनाएर चुनाव भाँड्नु हो त ? युवाहरु अराजक र अपरिपक्व नै भए भने पनि तिनलाई संयमित हुन प्रेरित गरेर चुनावको वातावरण बनाउने जिम्मेवारी एमाले दलको हैन ? के जेनजीलाई एमालेले वर्ग दुश्मन नै घोषणा गरेर उनीहरुको निरन्तर प्रतिवाद गर्ने नयाँ राजनीति तय गरेको हो ? के पछिल्लो चुनावमा सबै दललाई उछिनेर झण्डै साढे २८ लाख मत ल्याएको पार्टीले अहिले संयम् गुमाउने केही युवाहरुसित मुख जुधाएर त्यसैको वहानामा अब चुनाव हुँदैन भन्न सुहाउँछ ?

केपी ओलीको मानसिक स्वास्थ्य जुन हालतमा छ, त्यो हालतमा यस्ता कुरा मस्तिष्कमा घुस्दैनन् । तर पछिल्लो चुनावमा एमालेलाई मत दिएका २८,४५,६४० सद्दे मानिसहरुमध्ये अझै पनि एमाले नछाडेका धेरैको मस्तिष्कमा यो कुरा घुस्न सक्छ र घुस्नुपर्छः फागुनमा चुनाव नहुनु भनेको घर जल्नु जस्तै हो ।
घर जलेपछि धेरै खरानी हडप्नुभन्दा घर जल्नै नदिइ त्यसमा आफ्नो न्यायोचित हिस्सेदारीको लडाइँ लड्नु धेरै उत्तम कुरा हो । आफ्नै सन्तानको जीवन जेमा अडिएको छ, आफ्नो निकृष्ट स्वार्थका लागि त्यो देशरुपी घर जलाउन कायर र मानसिक रुपमा विक्षिप्त व्यक्तिबाहेक अरु कसैले सक्दैन ।

एमालेले अहिले टोलदेखि केन्द्रीय समिति र सचिवालयसम्म साहसिक र सद्दे एमालेगणहरुको हस्तक्षेप खोजेको छ । तपाईँ सज्जनहरु इतिहासको यो संगीन घडीमा आफ्नो भुमिकाबाट चुक्नुभयो भने त्यसले एमाले र देश दुवैलाई अन्तर्विस्फोट वा implosion मा धकेल्न सक्नेछ । कृपया ढिलो नहुँदै हस्तक्षेप गर्नुहोस् ।