काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । भदौ २३ र २४ गतेको विध्वंशबाट गठन भएको गैरलोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु व्यर्थ भएको टिप्पणी गरेका हुन् ।
एमाले झापाका अगुवा कार्यकर्ताहरूलाई बिहीबार साँझ भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैंमा हाँस्यास्पद भएको बताए । अध्यक्ष ओलीले सरकारले चुनाव गराउने भनेर घोषणा गरेको मिति अब चार महिना मात्र बाँकी रहेको तर नेताहरूलाई स्थान हद तोकेर चुनावको मञ्चन गर्नु जनता झुक्याउने खेल मात्र भएको बताए ।
उनले भने, ‘नेताहरूलाई स्थान हद तोकेको छ। जिल्ला जान नपाउने, निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने । राजनीतिक दल र नेताहरूलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो ?’
अध्यक्ष ओलीले एमालेमाथि जेनजीका नाममा भएको आक्रमण पार्टीले राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका काम गरेकोमा तिनलाई निस्तेज पार्ने प्रयास स्वरूप भएको बताए । यस प्रकारको आक्रमण रोक्न एमाले सक्षम रहेको उनको भनाइ छ।
अध्यक्ष ओलीले समाजमा बढ्दै गएको अराजकतालाई रोक्न एमालेले टोलटोलमा टोल सुरक्षा समिति गठन गरिरहेको बताए । यस्ता सुरक्षा समितीले अपराधिक गतिविधिको नियन्त्रण, त्यसमा संलग्नहरूलाई प्रहरीलाई बुझाउने र समुदायमा सुरक्षाको प्रत्याभूति दिने काम गर्ने बताए ।
अध्यक्ष ओलीले गैरसंवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधिसभाको पुनस्र्थापनाका लागि एमालेले ब्यापक दबाब सिर्जना गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया