देशमा सुधार ल्याउने हुटहुटी पूरा गर्न आवश्यक सङ्कल्प लिएर अघि बढ्नुपर्छः माधव नेपाल


हुटहुटी

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राजनीतिक क्षेत्रमा देखिएको अपराधीकण, व्यापारीकरण, दलालीकरण, ठेकेदारीकण र भ्रष्टीकरणको समस्या सुधार्नु राजनीतिको पहिलो कर्तव्य भएको बताएका छन् ।

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको सङ्गठनात्मक एकीकरण सभालाई बुधबार सम्बोधन गर्दै नेपालले देशमा सुधार ल्याउने हुटहुटी पूरा गर्न आवश्यक सङ्कल्प लिएर अघि बढ्नुपर्ने बताएका हुन् ।

सहसंयोजक नेपालले राजनीतिप्रति देखिएको जनताको वितृष्णाका बारेमा समीक्षा गर्नुपर्नेमा जोड दिँदै पार्टी र नेता तथा कार्यकर्ताभित्र झाङ्गिएको विकृति र विसङ्गति सुधार गरेर जानुपर्ने बताए । ‘विगत विर्सियौँ भने पूरानै अवस्था दोहोरिन बेर लाग्दैन’, उनले भने ।

नयाँ क्रान्तिकारी सङ्कल्प बोकेको पार्टी निर्माण गर्ने अभियान सुरु भएको जानकारी दिँदै उनले आफूभित्रको कमजोरी सुधार्ने प्रतिबद्धता अहिलेको आवश्यकता भएको बताए ।

‘नेकपालाई क्रान्तिकारी चरित्र, देश र जनताप्रति इमान्दार र समर्पित भएका योद्धाको पार्टी बनाउनुपर्छ’, सहसंयोजक नेपालले भने, ‘परिवर्तन यत्तिकै हुनेवाला छैन, यो आफैँबाट सुरु गर्नुपर्छ । अनेक खालका भड्काउबाट मुक्त हुनुपर्छ । जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।’

पार्टीभित्रको अनुशासन अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै उनले आफूलाई लागेका कुरा कमिटीमा राख्नुपर्ने बताए ।

जेनजी पुस्ताले व्यवस्था परिर्वतन नभई अवस्था परिवर्तनको माग उठाएको जनाउँदै उनले यस पार्टीले मात्रै जेनजीको आशा र भरोसा पूरा गर्ने दाबी गरे ।

‘जनताको अवस्थामा परिवर्तन गर्नुपर्नेछ । जनताको पीडा वेदना र युवाको आवश्यकता सम्बोध गर्ने नीति लिनुपर्छ, नेपाली विशेषतको वैज्ञानिक समाजवादको कार्यक्रम अघि सार्नुपर्छ’, सहसंयोजक नेपालले भने ।