राप्रपालाई देशको बलियो राष्ट्रवादी केन्द्र किन बनाउने ?


-सुरेश आचार्य ।

राप्रपालाई देशको बलियो राष्ट्रवादी केन्द्र बनाउनुपर्ने आवश्यकता छ । राप्रपा र राप्रपा नेपालका अध्यक्षहरू बीच संवादहीनताको अन्त्य भएको देखियो । यो सकारात्मक छ । राजा मान्ने र देउता मान्नेहरु एक ठाउँमा लामबद्ध हुँदा निःसन्देह नेपाली इतिहासले नयाँ बाटो तय गर्नेछ। यो बाटो राजा मान्ने र देउता मान्नेले नबनाए आफैं नासिने काम हुन्छ ।
३५ वर्षे मोनोपोली राजनीतिबाट वाक्कदिक्क भएका मतदाताहरूलाई राजा मान्ने र देउता मान्ने दल, अभियान, समूह र व्यक्तिले ‘एक निर्वाचन क्षेत्र एउटै मतदान बाकस’ राखेर, मत खसाल्ने ठाउँ बनाइदिनु पर्दैन ? विभाजित भएका राजा मान्ने र देउता मान्नेहरूलाई यस पटक जनताले मतदान गर्दैनन्, किनकी उनीहरूका सामुन्ने थुप्रै विकल्पहरू मैदानमा छन् । राजा मान्ने र देउता मान्नेहरू संयुक्त नभए समयले पर्खिने छैन ।

यो ईतिहासमा बिरलै आउने समयको सदुपयोग गर्न विघटित संसदमा प्रतिनिधित्व गर्ने तथा राजा र देउता मान्ने मध्येको दल राप्रपा भएकोले राप्रपाले नै पहल गर्नु पर्छ । आफ्नो क्षेत्रबाट पहल गरौं भनेर lip service ले पुग्दैन, आफ्नो ढोकामा लगाएको ताल्चा खोल्नुपर्छ । परिवारमा मूलीले सन्तानलाई अंश दिन्न भन्न मिल्दैन । अभिभावकत्वको भूमिका खोज्नेहरूले उदात्त छाती (magnanimity) देखाएछि विश्वासको संकट निवारण हुन्छ । नत्र संकट गहिरंदै जान पनि सक्छ । राजा मान्ने र देउता मान्नेलाई जनताले भोट दिएर उचाई बढाइदिएकैले २०५४ को आमचूनावमा कूल मतदाता संख्याको झण्डै १९% मत राप्रपाले पाएको हो । हाम्रो आफ्नै कारणले आजसम्म पनि Gen Y / Gen Z लाई त्यो सुन्दर परिदृष्यको अनुभूति गर्ने अवसर २८ वर्षदेखि राप्रपाले दिन नसकेकै हो । जेनजी विद्रोहले पानी बाराबार र भेदभावलाई अन्त्य गर्ने गरी समाजको सोंचमै paradigmn  shift ल्याइसकेको छ ।

यसै त हामी पारदर्शी छैनौं, प्रजातन्त्रका नम्र्स मान्दैनौं या अन्तरपार्टी र परस्पर पार्टी बीच मेलमिलाप छैन भन्ने मतदातामा गहिरो गरी गाडिएको सोंचमा परिवर्तन ल्याउन सकेका छैनौं । मतदाताको सोचमा परिवर्तन ल्याउने जम्माजम्मी अब साढे तीन महिना बाकी छ ।

राजा मान्ने र देउता मान्नेहरू बीचको बढ्दो ठूलो विश्वासको संकट छ, त्यसलाई हटाउने तर्फ कसैले gesture त देखाउनै पर्छ नि । मंसिर ७ गतेदेखि समान एजेण्डा बोकेर आन्दोलन गर्ने तयारीमा रहेका दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानलाई राजा मान्ने र देउता मान्नेहरूले निसर्तः नैतिक समर्थन जनाउनु पर्छ । नत्र यो विश्वासको संकट झनै बढेर जानसक्छ । जेनजी विद्रोहले मेलमिलाप कति शक्तिशाली हुन्छ भन्ने कुरा ३६ घन्टामा सरकारमात्र होइन ३५ वर्षदेखि जकडिएको सोंच र मान्यताको जग नै भत्काइदिएर देखाएको छ । जेनजीले ल्याएको परिवर्तनलाई कसरी डिजाइन गरेर राजनीतिक प्रक्रिया, पद्धति र प्रणालीको पूर्वाधार खडा गर्ने भन्ने दायित्व राजा मान्ने र देउता मान्ने दल, समूह र नेताको हातमा आएको छ । त्यति भेऊ त हामीलाई हुनैपर्छ नि, नत्र हामी हुस्सू हौं भनेर जनताले बुझ्ने छन् ।

छरपष्ट छरिएका राजा र देउता मान्नेलाई एक ठाउँमा ल्याउन ढिलो भइसक्यो । मेरो गोरूको १२ टक्का भन्दा भन्दै गोरू नै मर्न लागिसक्यो । गोरू मरिसकेपछि हलो काम लाग्दैन । यसै त ६०% मतदाताले हलो कस्तो हुन्छ चिन्न छोडिसके !!