काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवगठित नेपाली कम्युनिष्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको सज्ञां दिएका छन् ।
सोमबार ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कम्युनिष्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको संज्ञा दिएका हुन् ।
उनले भने, ‘ज्येष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ । ज्येष्ठ नागरिक आश्रममा अब एक दुई जनालाई समेट्न बाँकी छ । अनि कोर्स पूरा हुन्छ उहाँहरुको । कोही कोही छैठौं नम्बर पाएपछि कुदिहाल्नु हुँदो छ ।’
उनले नेकपा एकीकृत समाजवादीका नेताहरुप्रति लक्षित गर्दै काम गर्न नसक्ने र हातपाऊ बसेका बुढापाका अन्त गएको र युवा पुस्ताहरु एमालेमा आउन थालेको भन्दै कटाक्ष गरे ।
उनले भने, ‘गाउँखाने कथा जस्तो काम गर्न नसक्ने र हात पाऊ बसेका बुढापाका अलग भएपनि युवा पुस्ता भित्रिरहेका छन् । हाम्रो आग्रहले होइन उहाँहरुको अनुभवले घर फर्कनु भएको हो । हामीले आह्वान गरौं । तर फकाइफुल्याई बरियतामा केही पनि दिन्छु भनेका छैनौं । यो चाहियो भनेको छैनौं । घर फर्कने छौं मात्र भन्नुभएको छ ।’
त्यस्तै उनले नेकपा एमाले सानो चित्त, साँघुरो मन र दिल भएको भनेर हल्ला चलाइएकोमा रोष व्यक्त गरे । उनले जेनजी आन्दोलनमा आजगनी र तोडफोड गर्ने दोषीहरुलाई कानुनी कारबाही गर्न सरकारलाई चेतावनी दिए ।
उनले भने, ‘आगो लगाउनेलाई छुट छैन । निजी सम्पत्ति स्वाहा पारिदने तत्वहरु चिनिएका छन् । गिरफ्तार वा कारबाही गर्न नहुने पनि हुन्छ ? म सरकारलाई चेतावनी दिन्छु । यस्तो दण्डहीनताको प्रवृत्तिले प्रतिसोध जन्माएर समाजमा दिर्घकालिन अशान्ति हुनसक्छ । त्यसकारण समयमा नै कानुनी कारवाही गर्नुपर्छ ।’
जेनजीको नाममा युवाहरुलाई एउटा परिस्थिति खडा गरेर मार्ने मराउने काम भएको बताउँदै उनले संसद विघटन गर्ने र हुनै नहुने मान्छे संविधान मिचेर प्रधानमन्त्री हुने जस्ता सबै नराम्रो कामहरु भएको बताए ।
उनले भने,‘संसद विघटन गर्ने अनि हुनै नहुने मान्छे संविधान मिचेर प्रधानमन्त्री भएछन् । नहुन पर्ने सबै नराम्रो काम भएछ । असंवैधानिक सरकार बनेछ । संविधान जगाउने र जसबाट संसद पुनःस्थापना गर्ने बाटो नै ठिक रहेछ भनेर केही जेनजी र युवाहरु एमालेमा नयाँ प्रवेश गर्नुभएको छ ।’

प्रतिक्रिया