युवाका नाममा विनाश मच्चाउनेलाई जेनजी आन्दोलन भनियोः अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा अराजकता फैलाउने प्रयास भएको बताएका छन् ।

आइतबार राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय समिति बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाको नाममा हिंसा, तोडफोड र आगलागी गराइएको बताएका हुन् ।

उनले जनधनको क्षति गराउने खालका क्रियाकलापहरुलाई आन्दोलन, क्रान्ति भन्न नसकिने बताए । जेनजी आन्दोलनको आडमा देशलाई असंवैधानिक र अराजकतातर्फ धकेल्ने प्रयास भइरहेको बताए ।

उनले यस्तो अवस्थालाई लामो समयसम्म रहन दिन नहुने उल्लेख गर्दै यसको जिम्मेवारी नेपाली जनता, विशेषगरी युवाका काँधमा रहेको बताए ।

उनले जेनजी आन्दोलनका नाममा उठाइएका मागहरु मध्ये धेरै जायज रहेको पनि बताए । उनले भने,‘भदौ २३ र २४ गते माइतीघर मण्डलामा आएका युवाहरुले राम्रा मागहरु राखेका थिए । तर ती माग, आन्दोलन र मुद्दा युवाहरुका हातबाट खोस्ने तत्वहरु पहिले नै त्यहाँ जम्मा भइसकेका थिए । युवाका नाममा विनाश अरुले मच्चाए, तर त्यसलाई जेनजी आन्दोलन भनियो ।’

अध्यक्ष ओलीले भदौ २४ गते देशभर भएको आगलागी र तोडफोड पूर्वनियोजित भएको दाबी पनि गरे । ओलीले युवाहरुलाई संयमित, जिम्मेवार र देशहितमा उभिन आह्वान समेत गरे ।

‘हामीले यस्तो परिस्थिति निरन्तर रहन दिनु हुँदैन । यो देश युवाकै काँधमा टेकेर अघि बढ्छ, त्यसैले युवाले भावनामा होइन, विवेकमा आधारित भएर देशको भविष्य तय गर्नुपर्छ ।’