काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कब्जा गर्ने नियतले सहकार्यको हात नबढाउने बताएको छ ।
शुक्रबारदेखि चितवनको सौराहामा सुुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी आर्यालले राजनीतिक प्रतिवदेन प्रस्तुत पार्टी बनाउने चाहानालाई स्वागत गर्ने तर कब्जा गर्ने नियतले सहकार्य गर्न नसकिने उल्लेख गरेका हुन् ।
उनले पार्टी स्थापना गर्दा अहिले नाम आएका सबैसँग सँगै जाऊँ भनेर कुरा गर्दाको साक्षी आफू रहेको र त्यसबेला उहाँहरूले नपत्याएको उल्लेख गरेका छन् ।
प्रतिवेदनमा उनले भनेका छन्, ‘रास्वपा, मुलुकको चौथो राजनीतिक शक्ति । जनताले यसलाई पुराना तीन दलको विकल्पका रुपमा स्वीकार गरेको तथ्य २०७९ को चुनावी परिणाम हो । जनविश्वासको मात्रा, संसदीय अनुभव, प्रभावकारी एजेण्डा, गतिशिल र स्वीकार्य नेतृत्व एवं सांगठनिक आधारका दृष्टिले रास्वपालाई नै वैकल्पिक राजनीतिक दल, शक्ति, समूह र व्यक्तिहरुको केन्द्र बनाउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौं। र, प्रयास पनि गरिरहेका छौं । वैकल्पिक राजनीतिक दलमध्ये जनअनुमोदनका दृष्टिले सबैभन्दा ठूलो हुनुको नाताले पनि परिवर्तनकारी दल, संगठन, समूह वा व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपाको हो । यसमा हामी पूर्ण सचेत र गम्भीर छौं । पार्टी स्थापना गर्दा अहिले नाम आएका सबैसँग सँगै जाऊँ भनेर कुरा गर्दाको साक्षी मै हुँ । तर, त्यसबेला उहाँहरूले पत्याउनु भएन । अहिले पनि हामी उहाँहरूलाई हार्दिकतापूर्वक स्वागत गर्न चाहन्छौं । तर, यो पार्टीको इतिहास र पहिचान उहाँहरूले पनि बुझ्नु पर्छ । पार्टी बनाउने चाहनालाई स्वागत छ । तर, ’कब्जा’ गर्ने नियतको चाहिँ खुला प्रतिवाद गर्छौ नै ।’
पार्टी स्थापना गर्दा रास्वपाले कुलमान घिसिङलाई सभापतिमा प्रस्ताव गरेको कुरा सभापति रवि लामिछानेले बताएका थिए । अहिले कुलमानले रास्वपाले कार्यकारी सभापति दिए सँगै मिलेर जाने प्रस्ताव राखेको बताइएको थियो । यसै सन्दर्भमा अर्यालले आफ्नो राजनीतिक प्रतिवेदनमा यो कुरा उल्लेख गरेका छन् ।

प्रतिक्रिया